प्रचण्डको प्रस्तावमाथि ओलीले दिए जवाफ, दुवै अध्यक्षका प्रस्तावमाथि छलफल गरिने-Sutra News

प्रचण्डको प्रस्तावमाथि ओलीले दिए जवाफ, दुवै अध्यक्षका प्रस्तावमाथि छलफल गरिने

शनिबार, १३ मंसिर २०७७

शनिबार, १३ मंसिर २०७७

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक पुनः १६ गते बस्ने गरी सकिएको छ । शनिबारको सचिवालय बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले लिखित जवाफ पेश गरेका थिए ।



अध्यक्षद्वयको प्रस्ताव अध्ययन गरी छलफलका लागि १६ गते १ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने गरी अर्को बैठक बोलाइएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रवक्ता श्रेष्ठले प्रधानमन्त्री ओलीले पेश गरेको प्रस्ताव सबै सचिवालय सदस्यलाई अध्ययनका लागि वितरण गरिएको पनि श्रेष्ठले बताए । ‘अध्यक्षद्वयको प्रस्तावमाथि सचिवालय बैठकमा छलफल हुन्छ,’ बैठकपछि प्रवक्ता श्रेष्ठले भने ।

ओलीले पेश गरेको लिखित जवाफमा प्रचण्डले वितरण गरेको प्रस्तावको प्रस्तुति, तरिका, भाषाशैली र अन्तरवस्तुले पार्टीमा गम्भीर संकट निम्त्याएको उल्लेख गरेको छ ।

‘त्यसले पार्टी विधान अनुसार बैठकमा प्रस्तुत गरिने प्रस्तावको कुनै वैधानिक या राजनीतिक हैसियत नराख्ने भएकाले खासै महत्व नदिँदा पनि हुने थियो । तर, त्यसमा उठाइएका संगीन र भ्रमोत्पादक प्रश्नहरूलाई अनुत्तरित राख्नु पार्टी, कम्युनिष्ट आन्दोलन, देश र जनताकै अहितमा हुने भएकाले केन्द्रीय सचिवालय बैठकमा यस सम्बन्धमा आफ्ना विचारहरू प्रस्तुत गरेको छु, ओलीको जवाफमा भनिएको छ ।

प्रधानमन्त्री ओलीले छुट्टै प्रतिवेदन तयार पार्न समय मागेपछि दश दिनपछि आज सचिवालय बैठक बसेको हो । त्यस्तै, मंसिर १८ मा स्थायी कमिटी र मंसिर २५ मा केन्द्रीय कमिटी बैठक बोलाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट