बहस र छलफलले पार्टीमा गति पैदा गर्छ : प्रवक्ता श्रेष्ठ-Sutra News

बहस र छलफलले पार्टीमा गति पैदा गर्छ : प्रवक्ता श्रेष्ठ

शनिबार, १३ मंसिर २०७७

शनिबार, १३ मंसिर २०७७

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा आज पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो विचार लिखितरूपमा पेश गरेका छन् । यसअघि मंसिर ३ गते अर्का अध्यक्ष दाहालले समेत प्रस्ताव पेश गरेका थिए ।



पार्टी बैठबारे जानकारी दिँदै नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीले यसअघिको बैठकमा तय भएअनुसार नै आफ्नो विचार लिखितरूपमा प्रस्तुत गरेको बताए ।

प्रस्तुत विचारले पार्टीमा देखिएको समस्या, त्यसको जरो, पार्टीको संकट र त्यसको सारतत्वका बारेमा छलफल हुनु र पार्टीको समस्या, संकट तथा समाधान र निवारणका बारेमा छलफल हुनु स्वाभाविक भएको उनले बताए । बहसले पार्टीलाई एकता र गति पैदा गर्न सक्ने प्रवक्ता श्रेष्ठको भनाइ छ । आएका प्रस्तावमाथि पार्टी कमिटीमा हुने जहाँ तही बहसको प्रक्रियाले पार्टीभित्र सकारात्मक योगदान गर्ने उनले विश्वास व्यक्त गरे ।

यही मंसिर ३ गते बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीलाई आफ्नो विचार लिखितरूपमा प्रस्तुत गर्नका लागि सहमति प्रदान गरेको थियो । अध्यक्ष ओलीले प्रस्ताव गरेको प्रतिवेदनलाई अध्ययन गर्नका लागि थप तीन दिनको समय सचिवालय बैठकलाई दिइएको जानकारी दिए ।

उनका अनुसार उक्त प्रतिवेदन अध्ययन गरेर तथा आवश्यक छलफल र गृहकार्य गरेर फेरि १६ गते १ बजे पुनः सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय धुम्वाराहीमा बस्ने छ । ओलीले लिखितरूपमा प्रस्ताव पेश गरे पनि आफूहरुले हेर्न नपाएको बताए । ‘पार्टीको अहिलेको समस्या, सङ्कट र त्यसलाई सामाधान गर्न छलफल बहस र अन्तरसङ्घर्षलाई सही दिशा दिनुपर्ने आवश्यकता औँल्याउनुभएको छ’, प्रवक्ता श्रेष्ठले भने ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट