चिनियाँ रक्षामन्त्री वेई आज आउँदै-Sutra News

चिनियाँ रक्षामन्त्री वेई आज आउँदै

आइतबार, १४ मंसिर २०७७

आइतबार, १४ मंसिर २०७७

काठमाडौं- चीनका पहिलो नम्बरका स्टेट काउन्सिलर एवं रक्षामन्त्री जनरल वेई फेङ औपचारिक भ्रमणमा आइतबार बिहान काठमाडौं आउँदै छन् । छिमेकी भारतका विदेशसचिव हर्षबर्धन शृंगला फर्केको दुई दिनपछि चिनियाँ रक्षामन्त्रीको भ्रमण हुन लागेको हो ।



परराष्ट्र मन्त्रालय स्रोतका अनुसार रक्षामन्त्री वेई २० सदस्यीय प्रतिनिधिमण्डलसहित बिहान १० बजे काठमाडौं आइपुग्नेछन् ।

रक्षामन्त्रीको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री केपी ओलीले तोकेअनुसार प्रधानसेनापति पूर्णचन्द्र थापाले जंगी अड्डामा उनीसँग प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्ता गर्नेछन् ।

त्यसपछि बालुवाटारमा प्रधानमन्त्री ओली र शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्ने कार्यक्रम रहेको छ । 

काठमाडौं ओर्लेलगत्तै मन्त्री वेई बालुवाटारस्थित चिनियाँ दूतावास जानेछन् । त्यहाँ दिवाभोज गरेपछि उनी औपचारिक वार्ताका लागि जंगी अड्डा पुग्नेछन् ।

उनी आइतबार नै काठमाडौंबाट बंगलादेश जाने कार्यक्रम छ । परराष्ट्रले शनिबार बिहान मात्रै चिनियाँ मन्त्री वेईको नेपाल भ्रमण सार्वजनिक गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट