बाँके- बाँकेको नरैनापुर गाउँपालिकामा आजदेखि माध्यमिक तहका विद्यालयमा पठनपाठन सुरु भएको छ । कोरोना महामारी संक्रमणका कारण लामो समय विद्यालय बन्द हुँदा प्रत्यक्ष सिकाइ क्रियाकलाप अवरुद्ध भएकाले शिक्षा मन्त्रालयको कार्यढाँचाअनुसार आइतबारदेखि विद्यालय सुरु गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताए ।
उनका अनुसार स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाएर पहिलो चरणमा माध्यमिक तहका विद्यालय सञ्चालन हुँदैछन् । आइतबारदेखि पहिलो चरणमा लक्ष्मणपुरस्थित आदर्श मावि, मटेहियास्थित महेन्द्र मावि र भोजपुरस्थित जयकिसान माविमा पठनपठान सुरु भएको छ । पछिल्लो समय नरैनापुरमा कोरोना संक्रमण नदेखिए पनि सम्पूर्ण सावधानी अपनाएर जोखिम नबढ्ने गरी विद्यालय सञ्चालन गरिने अध्यक्ष शाहले बताए ।
गत कात्तिक २७ गतेको गाउँपालिका शिक्षा समितिको बैठक, मंसिर ८ गतेको कार्यपालिकाको बैठक र १२ गतेको माध्यमिक विद्यालयका प्रधानाध्यापकहरुको बैठकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट स्वीकृत विद्यालय सञ्चालन सम्बन्धि कार्यढाँचा, २०७७ मा उल्लेख भएका मापदण्डअनुसार आजदेखि विद्यालय सञ्चालन गर्ने निर्णय भएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजङ्ग शाहीले जानकारी दिए ।