विप्लव समूहको क्रान्तिमा भ्वाङ: गोकुल बाँस्कोटा-Sutra News

विप्लव समूहको क्रान्तिमा भ्वाङ: गोकुल बाँस्कोटा

आइतबार, १४ मंसिर २०७७

आइतबार, १४ मंसिर २०७७

काभ्रे- पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेत्रविक्रम चन्दको ‘विप्लव’ समूहको ‘क्रान्ति’मा भ्वाङ परेको दाबी गरेका छन् । धुलिखेलमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले चन्दले दावी गरेको क्रान्ति आजको आवश्यकता नभएकाले उक्त समूहका कार्यकर्ता नेकपामा सुरक्षित हुनुपरेको बताए ।



सोही कार्यक्रममा चन्द नेतृत्व समूहका छ दर्जन बढी कार्यकर्ता आज नेकपामा प्रवेश गरेका छन् । ‘ध्वंशात्मक क्रान्ति आजको आवश्यकता होइन, तपाइँको क्रान्तिमा भ्वाङ परिसक्यो, अब तपाइँ पनि नेकपामा प्रवेश गर्नुपर्‍यो’, उनले भने ।

नेकपाका केन्द्रीय सदस्यसमेत रहेका बाँस्कोटाले विकास–क्रान्तिको निरन्तरता आजको आवश्यकता भएको औँल्याए । ‘चन्द कमरेड तपाइँका नेता कार्यकर्तालाई तपाइँको क्रान्ति बेअर्थ लागेर सबै जिल्लाबाट नेकपामा प्रवेश गरिरहेका छन्, तपाइँ पनि नेकपामा समाहित भए राम्रो हुन्छ,’ उनले दोहोर्‍याए ।

बाँस्कोटाले नेपालमा हिंसात्मक क्रान्ति जरुरी नभएको बताउँदै शान्तिपूर्ण सङ्घर्ष र रुपान्तरणको भने आवश्यक रहेको उनको तर्क थियो ।

‘बमभन्दा ठूलो शक्ति जनता हो, उहाँहरुको फैसला नै मुलुकको परिवर्तनको संवाहक हुन्छ’, उनले भने, ‘जनताले राष्ट्रिय स्वतन्त्रता, जनजीविका, लोकतन्त्र र आर्थिक समृद्धिसँगै आत्मनिर्भरता नै क्रान्ति हो भन्ने देखाइसकेका छन्, अब यसैमा शान्तिपूर्ण सङ्घर्ष गरिरहने हो ।’

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट