कृषि विकास बैंकको रकम हिनामिना गर्ने एकजना स्वयम्भूबाट पक्राउ-Sutra News

कृषि विकास बैंकको रकम हिनामिना गर्ने एकजना स्वयम्भूबाट पक्राउ

सोमबार, १५ मंसिर २०७७

सोमबार, १५ मंसिर २०७७

काठमाडौं- कृषि विकास बैंकको सूचना प्रणालीमा अनाधिकृत पहुँच राखी पैसा रकमान्तर गरी भुक्तानी लिने कार्यमा संलग्न थप एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।



उक्त घटनापछि फरार हुँदै आएका धादिङ जिल्लाको रुवीभ्यालीका ५४ वर्षीय खम्ब घलेलाई पक्राउ गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाले जानकारी दिए । कूल ३५ मध्ये उनी प्रमुख पाँचभित्र पर्ने अभियुक्त हुन् ।

संगठित अपराधमा संलग्न व्यक्तिले बैंकको वित्तीय प्रणालीमा पहुँच राखी पैसा रकमान्तर गरी बैंकलाई झण्डै रु पाँच करोड हानि-नोक्सानी पुर्याउने कार्यमा गिरोह नै सक्रिय रहेका थिए । प्रहरीले पूरा पैसा रकमान्तर हुनुअघि नै केही व्यक्तिलाई पक्राउ गरेपछि उनीहरुको योजना विफल भएको थियो ।

थापाका अनुसार महाशाखाबाट खटिएको टोलीले घलेलाई गए राति काठमाडौंको स्वयम्भूबाट पक्राउ गरी संगठित अपराध कसुरमा थप कारबाहीका लागि आज काठमाडौं जिल्ला अदालतमा पेश गरेको छ ।

अघिल्लो वर्षको असोजमा कृषि विकास बैंक शाखा कार्यालय न्यूरोडमा सुनिता श्रेष्ठको खातामा रु ४९ लाख रकमान्तर भएको थियो । उक्त रकमबाट रु नौ लाख ५० हजार भुक्तानीसमेत भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट