धुम्बाराहीमा ‘सुरक्षा थ्रेट’ देखिएको भन्दै नेकपा सचिवालय बैठक बालुवाटारमा शुरु-Sutra News

धुम्बाराहीमा ‘सुरक्षा थ्रेट’ देखिएको भन्दै नेकपा सचिवालय बैठक बालुवाटारमा शुरु

मंगलबार, १६ मंसिर २०७७

मंगलबार, १६ मंसिर २०७७

NCP - Secretariat .jpg



काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बालुवाटारमा शुरु भएको छ । यसअघि धुम्बाराहीस्थित पार्टी कार्यालयमा बस्ने भनिएको बैठक अन्तिम समयमा बालुवाटार सारिएको थियो ।

महासचिव विष्णु पौडेलले ‘सुरक्षा थ्रेट’ देखिएको भन्दै बैठकस्थल सारिएको सूचना सदस्यहरूलाई पठाएका थिए ।

बैठकमा यसअघि पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले राखेको बेग्लाबेग्लै राजनीतिक प्रतिवेदनमाथि सामूहिक छलफल हुने कार्यसूची छ ।

नेकपाका अध्यक्षद्वयले एक–अर्कालाई आरोप–प्रत्यारोप गर्ने गरी राजनीतिक प्रतिवेदन सचिवालय बैठकमा राखेका छन् ।

दाहालले गत २८ कात्तिकमा अध्यक्ष ओलीमाथि संगीन राजनीतिक र व्यक्तिगत आरोपसहित आफ्नो राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यसको प्रतिउत्तरमा अध्यक्ष ओलीले यही १३ मंसिर शनिबार बसेको सचिवालय बैठकमा आफ्नो प्रस्ताव राखेका थिए ।

त्यसपछि आज बस्ने सचिवालय बैठकमा सचिवालय सदस्यहरूले दुवै अध्यक्षका प्रस्तावबारे आ–आफ्नो धारणा राख्ने जनाइएको छ ।

दुई अध्यक्षको एक–अर्कामा आरोपले भरिएको राजनीतिक प्रतिवेदन बैठकमा प्रस्तुत भएपछि नेकपामा विवाद तथा आरोप–प्रत्यारोपको क्रम नेतृत्व तहमा देखिन पुगेको छ ।

गत ३ मंसिरको सचिवालय बैठकले १८ मंसिरमा स्थायी कमिटी र २५ मंसिरमा केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट