तनहुँ- तनहुँको भानु नगरपालिकाका जङ्गलमा राखिएको ६५ वटा क्यामरामा २५ चितुवाका तस्बिर कैद भएका छन् । डिभिजन वन कार्यालय तनहुँ र कास्कीले भानु नगरपालिकाका –२, ३, ४, ५ र ६ का सामुदायिक वनमा क्यामरा जडान गरेका थिए ।
गत कात्तिक २२ गतेदेखि १५ दिनसम्म राखिएका क्यामरामा चितुवाका तस्बिर कैद भएको र सोको अध्ययन भइरहेको वन कार्यालय कास्कीका प्रमुख केदार बरालले जानकारी दिए । उनले केही दिनभित्र अध्ययनको प्रतिवेदन सार्वजनिक गरिने बताए ।
बरालका अनुसार चितुवा गणनाबाट चितुवा र आहारा प्रजातिको संख्या पत्ता लगाउन सहयोग पुग्ने र आगामी दिनमा वन्यजन्तुको बासस्थान व्यवस्थापन कसरी गर्ने भन्ने पत्ता लगाउन सहयोग पुग्छ ।
वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले चितुवाको प्राकृतिक खाना जीवजन्तु मानिसले खाइदिन थालेकाले चितुवाले बस्ती छेउ आएर गाईभैँसी, बाख्रा हुँदै मानिसलाई पनि आक्रमण गर्न थालेको बताए ।