इलाममा हप्तामा दुई दिन मात्र स्वाब संकलन, तिहारपछि बढे संक्रमित-Sutra News

इलाममा हप्तामा दुई दिन मात्र स्वाब संकलन, तिहारपछि बढे संक्रमित

बुधबार, १७ मंसिर २०७७

बुधबार, १७ मंसिर २०७७

इलाम- कोरोना भाइरसको संक्रमण दैनिक बढिरहे पनि इलाममा भने हप्ताको दुई दिन मात्रै कोरोना परीक्षण गरिने भएको छ । स्वाब संकलन गरेर ल्याब टेष्टका लागि झापाको भद्रपुर र मोरङको विराटनगर पुर्याउनु पर्ने भएकाले हप्तामा दुई दिनमात्रै स्वाब सङ्कलन गर्न सकिने स्वास्थ्य कार्यालयले बताएको छ ।



कार्यालयका अनुसार इलाम नगरपालिका–७ मा रहेको आइसोलेसन भवनमा हप्ताको सोमबार र बिहीबार स्वाब संकलन गरिने छ । कार्यालय प्रमुख वृजकुमार दासका अनुसार परीक्षण गराउनका लागि लक्षण भएका व्यक्तिले इलाम अस्पतालको सिफारिस लिएर आइतबार र बुधबार कार्यालयमा नाम टिपाउनु पर्नेछ ।

दैनिक २० जनाको हाराहारीमा कोरोना बढिरहँदा कार्यालयले राखेको यो मापदण्ड अपुग जस्तो देखिन्छ । ‘जिल्लामा ल्याब छैन । जिल्लाबाहिर पठाउँदा सीमित सङ्ख्यामा मात्र परीक्षण हुन्छ’, कोरोनाका स्रोत व्यक्ति विमलकुमार बरालले भने, ‘तर सबैलाई पहुँच पुग्ने गरी परीक्षण गरिनेछ ।’ जिल्लामा तिहार पछाडिको समयमा कोरोना अत्यन्त बढी देखिएको छ । स्थानीयस्तरमा कोरोना देखिएकाले परीक्षण बढाउनु पर्ने देखिन्छ । जिल्लामा तिहारपछिको समयममा मात्रै आठ जनाको निधन भएको छ भने करिब २०० संक्रमित थपिएका छन् ।

अस्पताल र स्थानीय तहले सुरक्षाका मापदण्ड कार्यान्वयन नगराउँदा पनि कोरोना बढेको हो । विशेषगरी बजार क्षेत्रमा हिँडडुल गर्ने यात्रुलाई मास्क प्रयोग गर्न अनिवार्य नगराउनु तथा सवारीसाधनमा दूरी कायम नगरी यात्रु राख्नाले पनि कोरोना उच्च दरमा बढेको हो । जिल्लामा हालसम्म २३३ जनामा कोरोना देखिएको छ । एघार कोरोना सङ्क्रमितको निधन भइसकेको छ । एक सय ६८ जना कोरोनामुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट