बैतडी- कोरोना संक्रमणको जोखिम बढेको भन्दै डिलाशैनी गाउँपालिकामा ११ दिनका लागि लकडाउन गरिएको छ । मंगलबार गाउँपालिकाका थप ६ जनामा कोरोना पुष्टि भएपछि गाउँपालिका क्षेत्रमा लकडाउन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पङ्खबहादुर शाहले जानकारी दिए ।
‘कोरोना जोखिम बढेको छ, गाउँपालिकामा अहिले १६ सक्रिय संक्रमित छन्, विपद् व्यवस्थापन समितिको निर्णयानुसार लकडाउन गरिएको छ’ उनले भने । मंसिर२६ गतेसम्म हुने लकडाउनको अवधिमा छोटो तथा लामो दूरीका सवारी साधन सञ्चालनमा रोक लगाइने र गाउँपालिका र सातवटै वडा कार्यालयबाट प्रदान हुने आकस्मिकबाहेकका सबै सेवा बन्द हुने शाहको भनाइ छ । यस्तै गाउँपालिकाभरिका विद्यालय बन्द रहनेछन् भने भीडभाड हुने खालका सबै कार्यक्रमका रोक लगाइएको गाउँपालिकाले जनाएको छ ।
लकडाउनको अवधिमा दैनिक उपभोग्य पसल बिहान ८ देखि ९ बजेसम्म खुला राख्ने, गाउँपालिकाभित्रका बैंक तथा वित्तीय संस्था हप्ताको तीन दिन आइतबार, मंगलबार र बिहीबार मात्रै खुला रहने बताइएको छ । यस्तै लकडाउनको अवधिमा स्वास्थ्य सेवा प्रदायक संस्था, एम्बुलेन्सलगायतका सेवा पनि सञ्चालन हुने जनाइएको छ । पछिल्लो समयमा डिलाशैनी गाउँपालिकाको समुदायमा कोरोना फैलिएको आशंका गरिएको छ ।
यसअघि जिल्ला सदरमुकामस्थित दशरथचन्द नगरपालिकाले पनि कोरोना जोखिम बढेको भन्दै मंसिर २२ सम्म लकडाउन गरेको छ । बैतडीमा हालसम्म ५६८ मा कोरोना संक्रमण पुष्टि हुँदा एक जनाको मृत्यु भइसकेको छ । संक्रमितमध्ये ४९९ ले कोरोना जितेका छन् भने ६८ जना अझै सक्रिय अवस्थामै रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।