भारतमा किसानहरुको प्रदर्शन एक हप्ता पूरा, भएन माग सम्बोधन-Sutra News

भारतमा किसानहरुको प्रदर्शन एक हप्ता पूरा, भएन माग सम्बोधन

बुधबार, १७ मंसिर २०७७

बुधबार, १७ मंसिर २०७७

नयाँदिल्ली- भारतमा किसानहरुले गरिरहेको विरोध प्रदर्शनको सिलसिला बुधबार एक हप्ता पूरा भएको छ । सरकारले ल्याएको कृषि सम्बन्धी तीन ओटा कानुनको विरुद्धमा असन्तुष्टि जनाउँदै किसानहरुले प्रदर्शन गरेका हुन् ।



संसदको गत अधिवेशनबाट सरकारले पारित गरेको कानुनका विरुद्धमा उनीहरुले त्यति बेलादेखि नै असन्तुष्टि जनाउँदै आएपनि पछिल्लो केही समयदेखि आन्दोलन नै गर्न थालेका छन् । उनीहरुले केन्द्रीय राजधानी नयाँदिल्लीको निराकार संगम मैदानमा शुरु गरेको प्रदर्शन बुधबार एक हप्ता भएको हो ।

आन्दोलन चर्किदै गएपछि सरकारले आन्दोलनकारी किसानहरुलाई वार्तामा बस्न आग्रह गरेको थियो । सरकारको आग्रह अनुसार मंगलबार राती भएको वार्ता पनि विनानिष्कर्ष सकिएको छ । मंगलबार रातीको वार्तामा सरकारी पक्षले मागहरुको सम्वोधनका लागि छुट्टै समिति बनाउन प्रस्ताव गरेपनि आन्दोलनरत किसानहरुले भने अस्विकार गरेका छन् ।

आन्दोलनकारीका प्रतिनिधिहरु तथा अगुवाहरुसँग भएको वार्ताले पनि सकारात्मक संकेत नदिएपछि आन्दोलन थप चर्किने र लम्बिने संभावना देखिएको छ । वार्ता सकारात्मक नभएपछि कृषि मन्त्री नरेन्द्र सिंह तोमरले भने वार्ता राम्रो भएको प्रतिक्रिया दिएका छन् । उनीहरुसँगको वार्ता यही डिसेम्बर ३ तारिख भोलि (बिहीबार) फेरि गर्ने तय भएको पनि उनले जानकारी दिए ।

‘हामीले आन्दोलनरत किसानहरुका प्रतिनिधिहरुसँग निरन्तर कुराकानी गर्न खोजेका छौँ, तर उहाँहरु छुट्टा छुट्टै गर्न चाहनुहुन्छ,’ हामीलाई त्यसमा पनि समस्या छैन,’ मन्त्री तोमरले भने । सरकारले किसान र उपभोक्ताकै हितका लागि कानुन ल्याइएको दावी गरेको छ भने किसानहरुले नयाँ कानुनले किसानलाई मर्कामा पार्ने दावी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट