ओली अनुपस्थित भएपछि नेकपा सचिवालय बैठक स्थगित, स्थायी कमिटी बैठक पनि सर्‍यो-Sutra News

ओली अनुपस्थित भएपछि नेकपा सचिवालय बैठक स्थगित, स्थायी कमिटी बैठक पनि सर्‍यो

बुधबार, १७ मंसिर २०७७

बुधबार, १७ मंसिर २०७७

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली नै अनुपस्थित भएका छन् । सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको थियो । ओली बुधबारको बैठक स्थगनको पक्षमा थिए ।



बुधबार दिउँसो १ बजे बोलाइएको बैठक एक घण्टा ढिला गरी बस्ने भनिएपनि प्रधानमन्त्री अनुपस्थित भएपछि अन्य नेताहरु केहीबेर अनौपचारिक बैठकमा बसेका थिए । बैठकपछि पार्टी नारायणकाजी श्रेष्ठले भने, ‘सचिवालयको बैठकमा अध्यक्ष कमरेड केपी ओली उपस्थित हुनुभएन । त्यसकारण आजको बैठकले पार्टीमा देखा परेको संकट र विद्यमान समस्या समाधानका लागि प्रधानमन्त्री ओलीकोसमेत उपस्थितिमा बैठक बस्नु आवश्यक, उपयुक्त र उचित हुन्छ भन्ने निष्कर्षका साथ आगामी बैठकमा उहाँको अनिवार्य उपस्थितिको अपेक्षासहित अनुरोध गर्ने निर्णय गरेका छौं ।’

प्रवक्ता श्रेष्ठका अनुसार सचिवालयको बैठक मंसिर २० मा र मंसिर १८ का लागि बोलाइएको स्थायी कमिटी बैठक मंसिर २१ सम्मका लागि सरेको छ । उनले आगामी बैठकमा प्रधानमन्त्री ओली सहभागी हुने आफूहरुको अपेक्षा र विश्वास रहेको बताए । ‘पार्टी गम्भीर संवेदनशील मोडमा छ ।

असामान्य परिस्थितिमा संवेदनशील विषयमा छलफल गर्न ओली कमरेड आउनु भएन भने गर्ने के गर्ने भन्ने हामी सोच्न चाहन्नौं, त्यसैले उहाँ उपस्थिति हुनुहुन्छ भन्ने अपेक्षा मात्र होइन विश्वस्त छौं । उहाँले बैठकमा सहभागी भएर संकट निवारण गर्न सार्थक योगदान गर्नुहुनेछ भन्ने विश्वास गर्छौं,’ बैठकपछि प्रवक्ता श्रेष्ठले भने ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट