अमेरिकी राष्ट्रपतीय चुनावमा धाँधलीको प्रमाण भेटिएनः महान्यायाधिवक्ता-Sutra News

अमेरिकी राष्ट्रपतीय चुनावमा धाँधलीको प्रमाण भेटिएनः महान्यायाधिवक्ता

बुधबार, १७ मंसिर २०७७

बुधबार, १७ मंसिर २०७७

वासिङ्टन- अमेरिकी महान्यायाधिवक्ता बिल बारले राष्ट्रपतीय निर्वाचनमा धाँधली भएको भन्ने रिपब्लीकन पार्टीको दाबीलाई अस्वीकार गरेका छन् । राष्ट्रपति ट्रम्पका अति निकट ठानिएका महान्यायाधिवक्ता बारको उक्त भनाई सार्वजनिक भएसँगै राष्ट्रपतीय निर्वाचन परिणाम उल्ट्याउने योजना लगभग समाप्त भएको छ ।



महान्यायाधिवक्ता बारको टिप्पणीले अमेरिकी गृह मन्त्रालय, अमेरिकी गुप्तचर निकाय तथा स्वतन्त्र चुनावी पर्यवेक्षकले यसअघि नै सार्वजनिक गरेका विवरणलाई सही ठहर्याएको छ । यसअघि नै ती निकायले सन् २०२० को राष्ट्रपति निर्वाचन अमेरिकी इतिहासमै सर्वाधिक सुरक्षित रहेको भन्दै चुनावमा धाँधली नभएको बताएका थिए ।

एसोसिएटेड प्रेससँग कुरा गर्दै महान्यायाधिवक्ता बारले ‘अहिलेको मितिसम्म हामीले चुनावी परिणामलाई नै असर पार्ने किसिमले चुनावमा धाँधली भएको कुनै प्रमाण भेटका छनौं’ भने ।

तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अझै पनि मिचिगन, पेन्सिल्भेनिया र जर्जिया जस्ता राज्यमा व्यापक धाँधली भएको आरोप लगाउँदै लगातार ट्वीट र अन्तर्वार्ता दिएका छन् । तर, उनको दाबीमा कुनै ठोस प्रमाण भेटिएका छैनन् ।

मंगलबार बिहान पनि राष्ट्रपति ट्रम्पले गर्नु भएको ट्वीटमा मिचिगनको चुनावी नतिजाका बारेमा सार्वजनिक सुनुवाई गर्न आफू तयार रहेको बताएका थिए । यस राज्यले डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतिका उम्मेदवार जो बाइडेन विजयी भएको भन्दै प्रमाणपत्र दिइसकेको छ ।

राष्ट्रपति ट्रम्पका तर्फबाट दायर भएका निवेदनहरुलाई राज्यका सर्वोच्च अदालतहरुले पर्याप्त प्रमाणको अभाव भन्दै खारेज गरिदिएका छन् । औपचारिक मतगणनामा ट्रम्पको भन्दा बाइडेनले ६२ लाख बढी मत प्राप्त गरेका छन् । बाइडेनले ३०६ इलेक्टोरल मत प्राप्त गरेका छन् भने ट्रम्पले २३२ इलेक्टोरल मत मात्र पाएका छन् । अमेरिकी राष्ट्रपति निर्वाचित हुन २७० इलेक्टोरल मत आवश्यक पर्दछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट