कास्की- कुनै बेला कास्की पोखराको सुन्तला भनी चासो र चर्चा कमाएको यहाँको सुन्तला खेती पछिल्लो एक दशकयता सुस्ताएको छ । सिक्टस ग्रिनीङ भाइरसको मारमा जिल्लाका भरतपोखरी, हंशपुरलगायतका स्थानमा सखापै भएको सुन्तला निर्मलपोखरीका दोपहरे, खरच्याङ, फेदीपाटनलगायतका स्थानमा भने अझै फल्दै गरेको छ । विगतका वर्षमा यी स्थानामा पहेँलपुर देखिने सुन्तला यस वर्षका लागि भने गत फागुन महिनामा फूल फुल्ने क्रममै असिनाले झारेपछि उत्पादनमा कमी आएको हो ।
सुन्तालाको कारण बर्सेनि राम्रो आम्दानी गर्दै आएका यहाँका किसान यस वर्ष भने उत्पादन घटेपछि चिन्तित बनेका छन् । अघिल्लो वर्ष सुन्तलाबाटै रु आठ लाख आम्दानी गरेका पोखरा महानगरपालिका–२१ फेदीपाटनका कृषक प्रकाश पौडल यस वर्ष भने उत्पादनमा कमी भई मुस्किलले रु एक लाख मात्रै आम्दानी गर्ने अवस्थामा पुगेको बताउँछन् ।
‘असिनाले बोटमा फूलमात्र नभई अन्य क्षति पनि पुर्याएको थियो’, उनले भन, ‘यस वर्ष त्यस्तै भयो, अर्को वर्ष सुन्तला जोगिने आशमा छौँ ।’ पौडेलले ४० रोपनी जग्गामा ६०० बोट सुन्तला लगाएका छन् । आफ्नो बुबाको पालामा चार दशकअघिदेखि सुन्तला खेती गर्दै आएको जानकारी दिँदै पौडेलले यस अवधिमा पहिलोपटक यति कम मात्रामा सुन्तला उत्पादन भएको बताए ।
धान फल्ने खेतमा सुन्तला लगाइएको बताउँदै उनले यस वर्ष सुन्तला पनि उत्पादन नहुँदा दैनिक जीविकोपार्जनमा समस्या आएको उल्लेख गरे । क्षतिका सम्बन्धमा कृषि ज्ञान केन्द्रमा जानकारी गराएको भन्दै पौडेलले क्षतिका आधारमा राज्यबाट कृषकले क्षतिपूर्ति पाउने अपेक्षा गरेको बताए ।
पौडेलजस्तै निर्मलपोखरी खरच्याङका अर्का सुन्तला कृषक टीकाराम भण्डारीको पनि उस्तै गुनासो छ । असिनाले फूल फुल्ने क्रममा नै झारेपछि यस वर्ष सुन्तलाबाट विगतमा जस्तो आम्दानी गर्न नसकिएको उनको भनाइ छ । अघिल्लो वर्ष आफूले खाएर र इष्टमित्रलाई चखाएर रु तीन लाख आम्दानी गरेको बताउँदै उनले भने, ‘यस वर्ष मुस्किलले रु ९० हजार मात्र आम्दानी भएको छ ।’
‘भएका सुन्तलाका दाना पनि साना छन्, विगतमा जस्तो मिठो पनि छैन’, उनले भने, ‘कतै रोग लागेर समस्या छ, बचेका ठाउँमा पनि असिनाजन्य प्रकोपले समस्या पारेको छ ।’ उत्तरतर्फबाट आएको असिनाले प्रत्येक रुखको उपल्लो भागमा पूर्णरूपमा क्षति बनाए पनि दक्षिणतर्फ तल्लो भागमा बचेखुचेका सुन्तलाले अलिअलि भने पनि आम्दानी भएको कृषक बताउँछन् ।
अन्य बालीमा असिनाले पारेको क्षति तत्काल देखिए पनि सुन्तलालगायतका फलफूलमा भने फल पाक्ने बेलामा मात्रै क्षतिको यकिन हुने भण्डारीले जानकारी दिए । त्यस्तै अर्का कृषक नारायण पौडेल पनि यस वर्ष सुन्तलामा असिनाले ठूलै क्षति पुर्याएको बताउँछन् । उनका अनुसार अघिल्लो वर्ष बाँदरबाट सुन्तला जोगाउन हम्मेहम्मे परेको थियो, अहिले असिनाले मारमा परेको छ । पौडेलले अघिल्लो वर्ष सुन्तलाबाटै रु तीन लाख आम्दानी गरेका थिए । कृषकको पीडालाई राज्यले बुझ्न नसकेको बताउँदै कृषकले क्षतिका आधारमा उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने सामूहिक धारणा राखेका छन् ।