इलाममा सुविधा सम्पन्न चलचित्र घर बन्ने-Sutra News

इलाममा सुविधा सम्पन्न चलचित्र घर बन्ने

शुक्रबार, १९ मंसिर २०७७

शुक्रबार, १९ मंसिर २०७७

इलाम- सदरमुकाममा मोटर पार्किङसहितको बहुतले चलचित्रघर निर्माण हुने भएको छ । प्रदेश सरकारको रु ११ करोड १० लाख ३९ हजार ८३८ लागतमा सिनेमा हल निर्माण हुन लागेको हो । भवनमा एक तला भूमिगतसहित तीन तला पार्किङस्थल र चौंथो तलामा दुई सिनेमा हल र फुड कोर्ट रहने नगरपालिकाका प्रमुख महेश बस्नेतले बताए ।



बसपार्कमा रहेको चार रोपनी क्षेत्रफलमा दुई सिनेमा हलका लागि प्रतिहल २५० जना क्षमताको भवन बन्नेछ । भवनमा ४७ साना सवारी साधन र २०० भन्दा बढी मोटरसाइकल पार्किङ गर्न सकिनेछ । २०७९ चैत ३० सम्म सम्पन्न गर्ने गरी कवीन्द्र नवसिर्जन्स जेभी कम्पनीले जिम्मा लिएको छ । अहिलेको बसपार्क साँघुरो भएपछि नगरले नयाँ बसपार्क बनाएको छ । सोही ठाउँमा पार्किङस्थलसहितको चलचित्रघर बनाइने भएको हो ।

स्थानीयवासीले इलाममा सिनेमा भवन बनाउन माग गरेपछि एकै ठाउँमा सिनेमा भवन र पार्किङस्थल बनाउन लागिएको हो । अहिले सिनेमा हलका लागि गौतम बुद्ध सभागृहको भवन भाडामा लिनुपर्ने बाध्यता छ ।

नगरले सोही भवन निर्माणका लागि एक वर्षअघि नै २३ करोडमा निर्माण गर्ने गरी विस्तृत परियोजना प्रतिवेदन तयार गरेको थियो । प्रदेश नं १ सँग भने १७ रु करोडमा सम्झौता भएको थियो । अहिले नगरपालिकाले भवन निर्माणका लागि रु ११ करोडमा ठेक्का दिएको नगर प्रमुख बस्नेतले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट