दोहा- काठमाडौँस्थित महाराजगञ्जमा रहेको कतार भिसा सेन्टर (क्यूभिसी) आगामी १० डिसेम्बर अर्थात् मंसिर २५ गतेबाट फेरि सञ्चालनमा आउने भएको छ । कोरोना महामारीका करण बन्द रहेको भिसा सेन्टरले अहिले एपोइन्टमेन्टका लागि बुकिङ खुल्ला गरिसकिएको सामाजिक संजाल फेसबुकमार्फत जानकारी दिएको छ ।
भिसा सन्दर्भ नम्बर र भिसा केन्द्रमा आवेदकको पासपोर्ट नम्बर, आवेदकहरूको छनौट गरेको मिति र समय प्रयोग गरेर कतार भिसा सेन्टरको वेबसाइट मार्फत अपोइन्टमेन्ट बुक गर्न सकिने जनाएको छ । भिसा सेन्टरले रोजगारीका लागि कतार आउने नेपाली कामदारको भिसा, स्वास्थ्य परीक्षण र कामदारको औंठा छाप सेवा दिनेछ । यसका अलावा सेन्टरमा कामदारले सक्कली करारपत्रमा हस्ताक्षर गर्ने प्रक्रिया पूरा गर्न पाउनेछन् ।
यसैगरी सेन्टरमा कागजात स्क्यानिङ, मेडिकल, बिमा र भिसा प्रोसेसिङका कामहरु पनि हुनेछन् । यसअघि ती सबै काम कतारमै हुने गरेको थियो । अब यी सबै काम नेपालबाट पूरा हुनेछ । जसका कारण नेपाली कामदारले कतार आइपुग्नासाथ आफ्नो परिचयपत्र पाउनेछन् । सेन्टर आइतबारदेखि बिहिबारसम्म बिहान ८:३० देखि साँझ ४:३० बजेसम्म संचालन हुने जनाएको छ ।