पाँचथ- फिदिम–फालोट सडक हुँदै फालेलुङ–६ को बरभञ्ज्याङ पुगेपछि बाक्लो बस्ती सकिन्छ । क्षित्तिज देखिने थुम्का–थुम्का पहाडतर्फ झण्डै एक घण्टा यात्रा गरेपछि पुगिन्छ, तालखर्कअर्थात् ‘गुरुङ गाउँ’ । जति उकाली चढ्यो त्यति रमाइलो हुने पहाडी विशेषतामा रम्दै पुगिन्छ गुरुङ गाउँ । गुरुङ गाउँ पुगेपछि भने रमाइलोमा अझ रमाइलो र मौलिक विशेषता थपिन्छन् ।
अग्ला थुम्का–थुम्का डाँडाको काखमा, वरिपरि जङ्गल र चौरको बीचमा रहेका करिब डेढ दर्जन घरको बस्ती हो तालखर्क । यहाँ गुरुङ समुदायको मात्रै बसोबास रहेको हुनाले यसलाई गुरुङ गाउँ पनि भनिएको हो । एकै समुदायको बसोबास भएकै कारण यहाँका बासिन्दाका आफ्नै मौलिकता र विशेषता छन् । आफैँमा पृथक पहिचान बोकेको तालखर्कलाई पछिल्लोपटक पर्यटकीय गन्तव्य बनाउने प्रयास शुरु भएको छ ।
पर्यटन प्रवद्र्धनका प्रशस्त सम्भावना देखिएपछि तालखर्कका बासिन्दालाई घरबास (होमस्टे) सञ्चालन तथा पाक कलासम्बन्धी तालीम दिइएको छ । पर्यटक रमाउने यहाँका रमणीय क्षेत्र तथा वस्तु पर्यटकलाई चिनाउन स्थानीयवासीलाई प्रकृति प्रदर्शक तालीम सञ्चालन गरिएको छ । जैविक विविधता तथा वातावरण संरक्षणका क्षेत्रमा सक्रिय यहाँको दीपज्योति युवा क्लबले यी तालीम सञ्चालन गरेको हो । तालीमका लागि रेडपाण्डा नेटवर्कको सहयोग र फालेलुङ गाउँपालिका–६ ले संयोजन रहेको थियो ।
तालखर्कलाई मुख्य प्राथमिकतामा राखेर सञ्चालित पाँच दिने तालीममा जिल्लाको फिदिम नगरपालिका, फालेलुङ र याङवरक गाउँपालिकाका स्थानीयवासीसमेत सहभागी थिए । तालखर्कमा पूर्ण अर्गानिक खाना खान पाइन्छ ।
‘हामीले यिनै अर्गानिक खानाका परिकार स्वादिष्ट बनाई पर्यटकको भोक मेटाउन, पर्यटकको स्वागत तथा सत्कार गर्न स्थानीयवासीलाई सक्षम र जागरुक गराएका हौँ’, दीपज्योति युवा क्लबका कार्यकारी निर्देशक सुनिल बान्तवाले भने । लेकाली भेगमा मौसमअनुसार पाइने स्थानीय उत्पादन यहाँ पुग्ने पर्यटकले धित मरुञ्जेल खान पाउनेछन् । ‘यहाँका स्थानीयवासीका मौलिक रहनसहन, परम्परा र संस्कार छन् । यसले पर्यटकलाई झनै लोभ्याउने हाम्रो विश्वास हो’, बान्तवाले भने ।
तालखर्कको शिरमा यहाँका सबै जातिले समान आस्था र विश्वास राख्ने बूढीथाम धार्मिक पर्यटकीय क्षेत्र रहेको छ । यहाँसम्म सिँढी मार्ग विस्तार गरिएको छ भने भ्यू–टावर निर्माण भइरहेको छ । बूढीथाम क्षेत्र कञ्चनजङ्घा र कुम्भकर्ण हिमाल सामुन्नेमा हेर्न निकै आकर्षक गन्तव्य मानिन्छ । तालखर्कबाट झण्डै एक घण्टा यात्रा गरेपछि सदावहार बगिरहने मुवा झरना पुगिन्छ ।
यिनै विशेषता रहेको तालखर्कलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिने प्रशस्त आधार रहेको ठान्छन् यहाँका स्थानीयवासीलाई घरबास, पाककला तथा प्रकृति प्रदर्शनसम्बन्धी तालीम दिन चितवनबाट आइपुगेका रमेश चौधरी ।
‘यहाँको आतिथ्यता र सत्कार नै सबैभन्दा उत्कृष्ट छ’, चौधरीले भने, ‘यस्तै यो स्थान चराको अवलोकनका लागि पनि उत्कृष्ट रहेछ ।’ तालखर्कसहितका यहाँका उच्च पहाडी क्षेत्र रातोहाब्रे (रेडपाण्डा) समेत पाइने स्थान हो ।
‘तालीमले तालखर्क पर्यटक भित्र्याउने उपयुक्त गन्तव्य बन्नसक्छ भन्ने देखिएको छ’, तालीमका प्रशिक्षक रमेश राईले भने, ‘स्थानीयवासी निकै जागरुक देखिएका छन् ।’ यी स्थानका अतिरिक्त जिल्लाका अन्य स्थानमा समेत भ्रमण गर्न चाहने पर्यकटकका लागि लक्षित गरी तालखर्कभन्दा बाहिरका स्थानका स्थानीयवासीलाई प्रकृति प्रदर्शक तालीम दिइएको छ ।
फालेलुङ–६ का वडाध्यक्ष सुजाता बान्तवा मौलिकताले भरिएको तालखर्कलाई पर्यटकीय गन्तव्य बनाउन घरबासलाई व्यवस्थित गर्नुपर्ने औंल्याइन् । ‘घरबासलाई व्यवस्थित गरी स्थानीय परिकार र मौलिकता सम्वद्र्धनमा हामी सबैको जोड हुनुपर्छ’, वडाध्यक्ष बान्तावले भनिन्, ‘सरकारले गर्न नसकेको काम दीपज्योति युवा क्लबले गरेको छ । अब सरकारी सहयोग अवश्य प्राप्त हुनेछ ।’
पर्यटकीय गन्तव्य निर्माणका लागि देखिएको सपना पूरा गर्न केही वर्ष लाग्ने भन्दै उनले अब उक्त स्थानमा गुरुङ समुदायको पहिचानसँग जोडिएको भेडापालनका लागि गाउँपालिकाबाट सहयोग जुटाउने बताइन् ।
स्थानीयवासीका लागि आयोजित तालीमको समापनका लागि तालखर्क पुगेकी प्रदेश १ प्रदेशसभाको उद्योग, पर्यटन, वन तथा वातावरण समितिका सभापति सीता थेबेले पर्यटन विकास र सोमार्फत स्थानीयवासीको आयआर्जन वृद्धिका लागि ग्रामीण पर्यटन प्रवद्र्धन अनिवार्य रहेको बताए । ‘हेला गरिएका स्थानीय उत्पादनबाट बाहिरका मान्छेलाई आकर्षण गर्ने र स्थानीयवासीले आयआर्जन अभिवृद्धि गर्ने होमस्टेको विकास ग्रामीण पर्यटन प्रवद्र्धनको मुख्य माध्यम बन्नसक्छ’, सभापति थेबेले भने, ‘यस कार्यमा प्रदेश सरकारले पनि सहयोग गर्दै आएको छ ।’
कोभिड–१९ को महामारीसँग जुध्ने क्रममा पनि तीनै तहका सरकारले पर्यटन विकासका कामलाई प्राथमिकतामै राखेको बताउँदै सभापति थेबेले अब पर्यटन क्षेत्रलाई खुल्ला गरी पूर्वाधार र प्रचारप्रसारमा जोड दिइनुपर्ने बताए ।
तालखर्कमा पर्यटन प्रवद्र्धनका लागि तालीमका अतिरिक्त दीपज्योति युवा क्लबले सबै स्थानीयवासीलाई आधुनिक चुलोसमेत वितरण गरेको छ । करिब रु ५५ हजार मूल्य पर्ने चुलो रु पाँच हजार ढुवानी खर्चमा स्थानीयवासीले प्राप्त गरेका छन् । क्लबले सबै घरमा घरबास सञ्चालनका लागि घरबास दर्ता र व्यवस्थापनमा समेत सहयोग गर्ने क्लबका कार्यकारी निर्देशक बान्तवाले जानकारी दिए ।
घरबास सञ्चालन, पाककला र प्रकृति प्रदर्शक तालीमले सानो गाउँको मुहार फेर्न र प्रशस्त आम्दानी लिनसक्ने बनाउन सहयोग पुगेको यहाँका स्थानीयवासीसमेत ररहेका फालेलुङ–६ का वडासदस्य कमल गुरुङले बताए ।
दुर्गम नै भए पनि अब तालखर्क पुग्न त्यति कठिन छैन । फिदिम–फालोट सडकले फालेलुङ–६ बरभञ्ज्याङसम्म जोडेको छ । यो सडक यसै आवमा कालोपत्रे पूरा हुने चरणमा छ । सोभन्दा माथिको क्षेत्रमा समेत गाउँपालिकाले रु २० लाख बजेट छुट्टयाइ सडक मर्मत गरेको वडाध्यक्ष बान्तवाले जानकारी दिए । रासस