कञ्चनपुरमा एचआइभी संक्रमित बढ्दै-Sutra News

कञ्चनपुरमा एचआइभी संक्रमित बढ्दै

शनिबार, २० मंसिर २०७७

शनिबार, २० मंसिर २०७७

महेन्द्रनगर- कञ्चनपुरमा एचआइभी एड्सका बिरामीको संख्या बढ्दै गएको छ । खासगरी भारतका विभिन्न ठाउँबाट फर्किनेमा यसको संक्रमित बढी मात्रामा देखिने गरेको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ ।



स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार जिल्लामा हालसम्म ५४९ जना एचआइभी संक्रमित छन् । ‘केही वर्षयताको बिरामीको रेकर्ड हेर्दा संक्रमितको संख्या बढ्दै गएको छ’, स्वास्थ्य कार्यालयका प्रमुख शिवराज सुनारले भने, ‘भारतबाट काम गरेर फर्किने नेपालीमा धेरै एचआइभी एड्सको सङ्क्रमण देखिने गरेको छ ।’

आर्थिक वर्ष २०७३÷७४ मा २१ जनामा एचआइभी संक्रमित पुष्टि भएको थियो, भने ०७४/७५ मा थप २८ जना संक्रमित थपिएका थिए । त्यसैगरी आव ०७५/७६ मा ४५ जना संक्रमित थपिए भने ०७६/७७ मा थप ३३ जनामा एचआइभीका नयाँ संक्रमित थपिएको स्वास्थ्य कार्यालयको रेकर्डमा उल्लेख छ ।

त्यसैगरी चालु आवको हालसम्म १३ जना एचआइभीका नयाँ संक्रमित फेला परेको सुनारले जानकारी दिए । हाल २८३ जना नियमित औषधि सेवन गरिरहेका छन् ।

चालु आवको चार महिनाको अवधिमा १३ जना नयाँ संक्रमित थपिएकाले यो वर्ष अझ बढ्न सक्ने प्रमुख सुनारको भनाइ छ । कोरोना महामारीका कारण थुप्रै मानिसले बसाइ सरेको कारणले पनि एचआइभी एड्सका बिरामी बढ्न सक्ने स्वास्थ्यकर्मीको अुनमान छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट