भारतमा आन्दोलनरत किसानहरूले गरे बन्दको घोषणा-Sutra News

भारतमा आन्दोलनरत किसानहरूले गरे बन्दको घोषणा

शनिबार, २० मंसिर २०७७

शनिबार, २० मंसिर २०७७

भारत- भारतमा आन्दोलनरत किसानहरूले बन्दको घोषणा गरेका छन् । आफ्ना मागहरू पूरा गर्न सरकारले अटेरी गरेकाले यही डिसेम्बर ८ तारिखका दिन देशभरी बन्दको आह्वान गरिएको उनीहरूले बताएका छन् ।



किसानहरूका नेता गुर्नाम सिंह चाडोनीले पत्रकार सम्मेलनमार्फत् भारत बन्दको आह्वान गरिएको जानकारी दिएका हुन् । आफ्ना मागहरू पूरा गर्नका लागि शनिबारको वार्तामा पनि सरकारले पर्याप्त लचकता नदेखाएमा देशभरी बन्द गराइने उनले बताए ।

कृषिसम्वन्धी नयाँ कानुनहरुप्रति असन्तुष्टि जनाउँदै भारतमा केही समयदेखि किसानहरु देशव्यापी आन्दोलनरत छन् । ‘हाम्रोे बैठकले आफ्ना मागहरु पूरा गर्न सरकारलाई दवाव दिनका लागि यही डिसेम्बर ८ तारिखका दिन भारत बन्दको आह्वान गर्ने निर्णय गरेको छ,’ अर्का किसान नेता हर्भिन्डर सिंह लख्वाले भने ।

हालै ल्याइएका कृषिसम्वन्धी कानुनहरू रद्ध नगरिएमा देशव्यापी बन्दअन्तर्गत सबै सडकहरुमा अवरोध गरिने उनले बताए । सरकारले ल्याएको कानुन लागू भएपछि किसानहरु थप मर्कामा पर्ने, कृषिजन्य उत्पादनले पर्याप्त मूल्य नपाउने दाबी आन्दोलनरत किसानहरुको रहेको छ ।

केही महिना अगाडि नै पारित भएको कानुनप्रति किसानहरुले त्यतिबेला देखि नै असन्तुष्टि जनाउँदै  आएपनि आन्दोलन भने केही समय अगाडिदेखि मात्रै सुरु भएको हो । अहिले केन्द्रीय राजधानी नयाँदिल्लीलाई समेत प्रभावित पार्नेगरी आन्दोलन सुरु भएकाले केन्द्रीय सरकार अहिले दवावमा परेको छ ।

आन्दोलन चर्किदै गएपछि सरकारले किसानहरुसँग पटक-पटक वार्ता पनि गरेको छ । तर, वार्ता परिणममुखी हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट