काठमाडौं- काठमाडौं महानगरपालिकाले सम्पदा संरक्षण र सम्बद्र्धनमा गर्न उच्च प्राथमिकमा राखी काठमाडौंभित्रका सम्पदालाई बाहिर जिल्लाका सम्पदासँग जोडेर पर्यटन व्यवस्थापन गर्ने भएको छ ।
कामपा प्रमुख विद्यासुन्दर शाक्यले वडा २५ श्रीघः, नघलस्थित धर्मकीर्ति विहारको विस्तारित भवनको आज शिलान्यास गर्दै सम्पदा संरक्षण र अवलोकनबाट स्थानीयवासीको आयमा वृद्धि गरिने जानकारी दिए ।
उनले क्वाःपा, द्योःछेँ, बहाल, बही, सत्तल जस्ता सांस्कृतिक सम्पदा जोगाएर गुठी परम्परालाई जीवन्त राख्न स्रोतको अभाव नभएको पनि प्रष्ट पारे ।
‘भर्खर लुम्बिनी प्रदेशको रामग्राम नगरसँग भगिनी सम्बन्ध गाँसेका छौँ । यसैगरी भगवान् बुद्धको मावली घर भएको पण्डितपुरमा कोलिय शान्ति उद्यान निर्माण गर्न एक करोड ५० लाख विनियोजन गरेका छौँ’, कामपा प्रमुख शाक्यले भने ।
विस्तारित भवनको लागत चार करोड २८ लाख हो । सोमध्ये पहिलो चरणमा करिब एक करोड लागतका काम हुने भवन निर्माण उपभोक्ता समितिका संयोजक अभयरत्न कंसाकारले जानकारी दिए ।