सुर्खेत- सुर्खेतमा थप एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । पञ्चपुरी नगरपालिका–६ का ५३ वर्षीय पुरुषको शनिबार राति प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।
मंसिर ९ गते कोरोना संक्रमण पुष्टि भएका उनी होम आइसोलेसन बसेका थिए । एक्कासि स्वासप्रश्वासमा समस्या देखिएपछि प्रदेश अस्पतालको कोभिड–१९ वार्डमा भर्ना गरिएको थियो ।
अस्पताल भर्ना हुँदा उनमा अक्सिजन स्याचुरेशन कम रहेको, अक्सिजन आदान प्रदानका साथै भेन्टिलेटरमा राखेर उपचार गरिएको र सुधार नभएपछि शनिबार राति मृत्यु भएको महाशाखाद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ । ती बिरामी बेहोस भएपछि छाती थिचेर ब्युँताउने प्रयास गरिएको थियो ।
स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जनस्वास्थ्य कार्यालय सुर्खेतको समन्वय तथा नेपाली सेनाको सहयोगमा मृतकको शव व्यवस्थापनको तयारी भइरहेको बताए ।