काठमाडौं- चितवन र काभ्रेमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । पूर्वीचितवनमा आइतबार भएका फरक–फरक दुर्घटनामा प्रहरी जवानसहित दुई जनाको मृत्यु भएको छ ।मोटरसाइकललाई गाडी र ट्याक्टरले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुने एक जना प्रहरी जवान सुजन न्यौपाने रहेका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ति नगरपालिका–६ मा पूर्वतर्फ जाँदै गरेको ना ३७ प ५५४५ नम्बरको मोटरसाइकललाई ना ६ त ३३८१ नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो ।
ट्याक्टरको ठक्करबाट सिन्धुलीको इलाका प्रहरी कार्यालय खुर्कोटमा दरबन्दी भई इलाका प्रहरी कार्यालय भण्डारामा कार्यरत ३३ वर्षीय न्यौपानेको मृत्यु भएको हो ।
राति ८ बजेतिर भएको दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा राति मृत्यु भएको हो । न्यौपाने मकवानपुरको आमभञ्ज्याङका रहेको प्रहरीले जनाएको छ ।
यस्तै गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका–७ का ३५ वर्षीय विजेन्द्र चौधरी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रहरीका अनुसार पूर्वपश्चिम राजमार्गअन्तर्गत खैरहनी नगरपालिका–१ बहेडाचोकमा ग १ च ९७२१ नम्बरको स्कारपियो गाडीले ना २९ प ९७०८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
गाडीको ठक्करबाट घाइते चौधरीको उपचारका क्रममा भरतपुर अस्पतालमा राति मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै काभ्रेको बनेपामा आइतबार साँझ दुई मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।
दुर्घटनामा काभ्रेको धुलिखेल नगरपालिका-८ भट्टीडाँडाका २८ वर्षीय सत्यमान तामाङ र सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका- ६ का हरिकृष्ण बस्नेतको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बनेपा नगरपालिका-६ मा ना १२ प ७४२९ नम्बरको मोटरसाइकल र बागमती प्रदेश ०२-०१७ प २७०८ नम्बरको मोटरसाइकल ठोक्किएका थिए । दुर्घटनामा गम्भीर घाइते भएका तामाङ र बस्नेतको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।