काठमाडौं- नेपालमा साना लगानीका मिडियाको प्रवद्र्धनका लागि सरकारले प्रभावकारी नीति ल्याउनुपर्ने आवश्यकतामाथि वक्ताहरुले जोड दिएका छन् ।
प्रेस काउन्सिल नेपालको आयोजना तथा नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको संयोजनमा आज हेटौँडामा आयोजित ‘पत्रकार आचारसंहिता र लैङ्गिक हिंसा निवारणमा मिडियाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी वक्ताहरुले साना लगानीका मिडिया संकटमा पर्न थालेकाले यसको प्रवद्र्धनका लागि सरकारले प्रभावकारी नीति ल्याउनुपर्नेमा जोड दिएका हुन् ।
प्रेस काउन्सिल नेपालकी सदस्य संगीता खड्काले सबै खाले मिडियाको प्रवद्र्धनमा काउन्सिलले सरकारका विभिन्न निकायमा पहलकदमी अघि बढाएको बताए । नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईंको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।