म्याग्दी- मुहान विवादका कारण म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ औलामा निर्माण गर्न लागिएको सिँचाइ आयोजना अन्योलमा परेको छ । खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीले गत असारमा औला सिँचाइ आयोजना निर्माण गर्न ५६ लाख ७१ हजार १४२ मा भगवति मालिका कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता गरेको थियो ।
२०७८ जेठ ३० गतेभित्र सम्पन्न गर्ने लक्ष्यसहित ठेक्का लिएको कम्पनीका सञ्चालक गोपालप्रसाद भट्टचनले साउनदेखिनै काम शुरु गर्न खोजे पनि मुहान विवादले नपाएको बताए । औलाको छिमेकी रिमा गाउँका केही स्थानीयवासीले अवरोध गरेका कारण सम्झौता भएको पाँच महिनासम्म पनि सिँचाइ आयोजना निर्माण शुरु हुन नसकेको हो ।
दुई गाउँका टोल सुधार समितिको सम्झौताअनुसार रिमाको पुछारमा रहेको खोला काईको मुहानबाट औलामा पानी ल्याउन आयोजनाको सर्वेक्षण भएको थियो ।
औला सिँचाइ आयोजनाको उपभोक्ता समितिका अध्यक्ष कुमबहादुर पुर्जाले बुझ्नै नसकिने माग अघि सारेर अवरोध गरिएको दुखेसो पोखे । ‘खोला सुक्ने, खेतमा पाइप गाड्दा भत्किने, आरिदह सुक्ने बहाना बनाइएको’, उनले भने, ‘वातावरणीय र जैविक विविधतामा असर नपर्ने गरी कर तिरेर पानी लैजान्छौँ भन्दा पनि दिइएन । वास्तविक कुरा के हो बुझ्नै सकिएन ।’
खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयका इञ्जिनीयर बालकृष्ण बुढाथोकीले औला सिँचाइ आयोजना निर्माण भएमा ५० हेक्टर जमिनमा सिँचाइ सुबिधा पुग्ने बताए ।