फाइजर इन्डिया र सेरमद्वारा भारतमा कोभिड-१९ खोप प्रयोगका लागि निवेदन-Sutra News

फाइजर इन्डिया र सेरमद्वारा भारतमा कोभिड-१९ खोप प्रयोगका लागि निवेदन

मंगलबार, २३ मंसिर २०७७

मंगलबार, २३ मंसिर २०७७

नयाँदिल्ल- दुई वटा कोभिड–१९ खोप उत्पादक कम्पनीहरु फाइजर इन्डिया र सेरम इन्स्टिच्यूट अफ इन्डिया (एसआइआइ) ले भारतमा कोभिड-१९ को खोप भारतमा आपतकालीन प्रयोगमा ल्याउन भन्दै भारतीय औषधि व्यवस्था विभाग (डिसिजिआ) समक्ष आवेदन दिएका छन् ।



भारतमा फाइजर कोभिड–१९ का लागि विभाग समक्ष अनुमति माग्न पुग्ने पहिलो विदेशी कम्पनी हो भने सेरम पनि कोभिसिल्ड खोपका लागि आवेदन गर्ने पहिलो भारतीय कम्पनी हो । विभागका एक अधिकारीले भने, ‘फाइजर इन्डियाले फाइजर–बायोएनटेकको कोभिड–१९ भ्याक्सिन भारतमा आयात र वितरण गर्न अनुमतिका लागि आवेदन दिएको छ ।’

यद्यपी खोप भण्डार गर्न आवश्यक पर्ने माइनस ७० डिग्री सेल्सियसको अत्यन्त कम तापमानले भारत जस्ता मुलुकमा यसको वितरणका लागि ठूलो चुनौती छ । फाइजरले खोपको आपतकालीन प्रयोगका लागि यस किसिमको अनुमति बेलायत र बहराइनमा पाइसकेको छ ।

‘प्रतिज्ञा गरेझैं सन् २०२० को अन्त्य हुनुअघि नै भारतमै निर्मित खोप कोभिसिल्डको आपतकालीन प्रयोगका लागि सेरमले आवेदन दिएको छ । यसले असंख्यको ज्यान बचाउनेछ । भारत सरकार र प्रधानमन्त्री नरेन्द्र मोदीलाई उहाँहरुको अमूल्य सहयोगका लागि धन्यवाद दिन चाहन्छु,’ एसआइआइका प्रमुख अदार पुनावालाले एक विज्ञप्तिमा भनेका छन् ।

हाल, भारतीय स्वास्थ्य अनुसन्धान परिषदद्वारा सह–प्रायोजित कोभिसिल्डको तेस्रो चरणको क्लिनिकल परीक्षण देशका विभिन्न भागमा संचालनमा छ । एसआइआइले विशाल औषधि उत्पादक कम्पनी अस्ट्राजेनिका र अक्सफोर्ड विश्वविद्यालयसँग कोभिसिल्डको उत्पादनका लागि साझेदारी गरेको छ ।

पुनावालाले भारत सरकारले एसआइआइबाट उत्पादित कोभिड–१९ का खोप ३० करोडदेखि ४० करोड डोज खरिद गर्ने बताए । यस कम्पनीले हाल प्रति महिना ५० देखि ६० लाख डोज उत्पादन गरिरहेको छ र अर्को वर्ष सन् २०२१ को जनवरीदेखि प्रति महिना १० करोड डोज उत्पादन गर्ने योजना छ ।

कोभिसिल्ड खोपलाई २–८ डिग्री सेल्सियस तापक्रममा भण्डार गर्न सकिन्छ । भारत सरकारले देशको सबैभन्दा ठूलो खोप अभियान संचालनका लागि पूर्वतयारी सुरु गरिसकेको छ । हाल, भारतमा पाँच किसिमका कोभिड–१९ खोपहरु विकासको लगभग अन्तिम चरणमा पुगेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट