काठमाडौं- जनकपुर विमानस्थलको नयाँ टर्मिनल भवन सञ्चालनमा आएको छ । २०६९ सालमा निर्माण सुरु भएको सो भवन आठ वर्षपछि तयार भएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आज उद्घाटन गर्ने कार्यक्रम छ ।
आधुनिक नयाँ टर्मिनल भवन सञ्चालनमा आएसँगै जनकपुर विमानस्थलको पाँच दसक पुरानो टर्मिनल भवन विस्थापित हुने भएको छ। १८ जना यात्रु बोक्ने जहाजको लागि २०२४ सालमा निर्माण गरिएको टर्मिनल भवनबाट हालसम्म सेवा दिइँदै थियो ।
१८ कात्तिक २०६९ मा १८ करोडको लागतमा तत्कालीन पर्यटन तथा नागरिक उड्डयनमन्त्री पोष्टबहादुर बोगटीले टर्मिनल भवनको शिलान्यास गरेका थिए । डेढ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी निर्माणका लागि पप्पु एण्ड एनके कन्स्ट्रक्सन तथा नेपाल नागरिक उड्डयन प्राधिकरणबीच १५ असोज २०६९ मा सम्झौता भएको थियो ।