सगरमाथाको उचाइसँगै देशको स्वाभिमान बढ्यो: सरकार-Sutra News

सगरमाथाको उचाइसँगै देशको स्वाभिमान बढ्यो: सरकार

मंगलबार, २३ मंसिर २०७७

मंगलबार, २३ मंसिर २०७७

काठमाडौं- विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ ८६ सेन्टिमिटरले बढेर आठ हजार ८४८.८६ मिटर कायम भएको छ ।



नेपालले पहिलोपटक आफ्नै स्रोत, साधन र जनशक्तिले सगरमाथाको उचाइ मापन गरेको सुखद् घटनाले केवल सगरमाथाको उचाइका निम्ति मात्र नभई विश्वमा नेपालको पहिचान बढेको छ । यसले नेपाल र नेपालीको सम्मान र स्वाभिमान पनि बढेको सरकारका वरिष्ठ मन्त्रीहरुले उल्लेख गरेका छन् ।

सगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्न आयोजित समारोहमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सगरमाथाको उचाइ बढ्नु नेपालका निम्ति अविष्मरणीय र गौरवपूर्ण घटना भएको बताए ।

‘नेपालको पहिचान र गौरवको रुपमा रहेको सगरमाथाको उचाइ मात्र घोषणा भएको छैन, नेपालले आफ्नै जनशक्ति र स्रोत व्यवस्थापन गरी नेपाली प्राविधिकबाट भएको यो अविस्मरणीय र गौरवपूर्ण क्षणले नेपाली प्राविधिक क्षमताको उचाइमाथि पुगेको छ, यस कार्यमा संलग्न सम्पूर्णमा हार्दिक बधाई दिन चाहन्छु’, परराष्ट्र मन्त्री ज्ञवालीले भने ।

उनले सगरमाथाको उचाइ घोषणासँगै सगरमाथाबारे आधिकारिक, वैज्ञानिक तथ्य आम सहमतिमा प्राप्त भएको उल्लेख गरे ।

उनले अगाडि थपे, ‘हामी सबैलाई थाहा छ, सगरमाथाको उत्तरी पाटो जनवादी गणतन्त्र चीनसँग सम्बद्ध छ । यसको उचाइ संयुक्त रुपमा घोषणा गरिनु आवश्यक पनि थियो विश्वसनीयताका लागि । खुशीको कुरा नेपालको नापी विभागले शुरु गरेर डेटा प्रोसेसिङ गरी जुन बिन्दुमा ल्याएको थियो । चिनियाँ मित्रहरुले गरेको सर्भे र उहाँहरुको तथ्याङ्क प्रशोधनमा पनि सोही तथ्य सही रुपमा देखापरेका छन्, यसले अब तथ्य र एकरुपता पनि कायम गरेको छ ।’

परराष्ट्रमन्त्री ज्ञवालीले भूमि व्यवस्था मन्त्रालयबाट यो वर्ष भएका दुई महत्वपूर्ण काम नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा र सगरमाथाको नयाँ उचाइ मापन कार्य सम्पन्न भएकामा मन्त्री अर्याललाई धन्यवाद ज्ञापन गरे ।

मन्त्री ज्ञवालीले जलवायु परिवर्तनको जोखिमका कारण नेपालका हिमाल कालापत्थरको रुपमा परिणत हुँदै जानु ठूलो चुनौतीको विषय भएको उल्लेख गर्दै यस्ता जोखिमबाट हिमालय पर्वत क्षेत्रको संरक्षणका लागि सरोकारवाला मुलुकसँग नेपालले विशेष चासोका साथ कुरा उठाइरहेको जानकारी दिए ।

उनले सगरमाथाको संयुक्त उचाइ घोषणा गर्ने कार्यक्रमको सन्दर्भमा चिनियाँ स्टेट काउन्सिलर विदेशमन्त्री वाङयीसँग नेपाल–चीन सम्बन्धका विविध आयामसम्बन्धी कुराकानी भएको जानकारी दिँदै जलवायु परिवर्तनको जोखिमबाट हिमालय क्षेत्र र सगरमाथाको रक्षाका निम्ति चीनलगायत सरोकारवाला अन्य मुलुकसँग बारम्बार कुरा उठाउने गरेको बताए ।

नेपालले करिब दुई वर्ष लगाएर उचाइ मापन गरेको थियो । गत वर्ष चीनका राष्ट्रपति सी चिनफिङ्को नेपाल भ्रमणका क्रममा दुवै देशले मिलेर सगरमाथाको उचाइ घोषणा गर्ने सम्झौता गरेका थिए । सोहीअनुरुप नेपाल र चीन सरकारले आज संयुक्तरुपमा सगरमाथाको उचाइ वृद्धि भएको घोषणा गरेका हुन् । अब सगरमाथाको उचाइ आठ हजार ८४८.८६ मिटर हुने भएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री अर्यालले १७० वर्षे सगरमाथा मापनको इतिहासमा नेपाल आफैंले स्रोत व्यवस्थापन र जनशक्ति परिचालन गरेर सगरमाथाको उचाइ मापन कार्य सम्पन्न गरेसँगै सगरमाथाको उचाइबारे भएका दुविधा र आशङ्काको निवारण भएको बताइन् ।

उनले भनिन्, ‘सगरमाथाबारे उठेका जिज्ञासालाई सम्बोधन गर्दै विश्वसामु एउटै उचाइ कायम गर्न मन्त्रालयको नापी विभागमार्फत यो काम सम्पन्न गरी घोषणा गरिएको छ, सगरमाथाको उचाइ बढेको छ, आजको दिनबाट सगरमाथाको उचाइ मात्रै हैन, नेपाल र नेपालीको सम्मान र स्वाभिमान पनि बढेको छ ।’

नापी विभागका महानिर्देशक प्रकाश जोशीले आफ्नै स्रोतसाधन र जनशक्तिबाट सगरमाथाको उचाइ मापन गरिनुले नेपालको गौरव विश्वमा सगरमाथा झैँ अग्लिएको बताए ।

सगरमाथाको नयाँ उचाइ नेपालका तर्फबाट परराष्ट्र मन्त्री ज्ञवाली र चिनियाँ विदेशमन्त्री याङयीले भर्चुअल माध्यममार्फत् संयुक्तरुपमा सार्वजनिक गरे । सो अवसरमा दुवै देशका राष्ट्रपतिको शुभकामना सन्देश पढेर सुनाइएको थियो । नेपालको तर्फबाट परराष्ट्रमन्त्री ज्ञवालीले राष्ट्रति विद्यादेवी भण्डारीको सन्देश पढेर सुनाए ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, नापी विभागले सगरमाथाको उचाइ मापन गरेको हो । विभागले १३ करोड खर्चेर झण्डै दुई वर्षको अवधिमा सगरमाथाको मापन कार्य सम्पन्न गरेको थियो ।

२०७२ मा गएको भूकम्पपछि सगरमाथाको उचाइ घटबढ भएको हुनसक्ने विषयमा अन्तर्राष्ट्रिय बहस सुरु भएपछि नेपालले पहिलोपटक आफ्नै स्रोत साधनमा सगरमाथाको उचाइ नापेको हो । सो अवसरमा सगरमाथाको उचाइ मापन कार्यमा संलग्नहरुलाई सम्मान गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट