काठमाडौं- मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल अरवियन सागरको दक्षिणपूर्वी भूभागमा र दक्षिणपुर्वी वंगालमा विकसित न्युन चापीय प्रणालीको आंशिक प्रभाव परेको छ ।
अहिले प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली तथा प्रदेश नं. २ र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहेको छ ।
महाशाखाका अनुसार आज दिनभरको मौसम यसप्रकार रहने छ । दिउँसो प्रदेश नं १, प्रदेश न २, बागमती प्रदेश र गण्डकी प्रदेशका भूभागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
राति प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ। साथै सुदुर पश्चिम प्रदेशको हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
आगामी २४ घण्टामा प्रदेश नं १ का पहाडी भूभागका १/२ स्थानहरुमा हल्कारफाँटफुट वर्षाको सम्भावना हुनुका साथै देशका धेरै स्थानहरुको वायुको तापक्रममा गिरावट आउनुको साथै तराई भुभागमा बिहानीपख वायुको पारदर्शितामा कमी आई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।