काठमाडौं- ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथ दर्शन गर्न बिहानैदेखि तःबहालमा भक्तजनको भीड लागेको छ । बुधबार साँझ ५ बजे रातो मच्छिन्द्रनाथलाई बुङ्मतीबाट पाटन ल्याइएसँगै दर्शनार्थी बढेका हुन् ।
मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषीले दिनुभएको शुभ साइतअनुसार मच्छिन्द्रनाथलाई पाटन तःबहाल ल्याइएको पुजारी मदन शाक्यले जानकारी दिए । उनले भने, ‘बुधबार दिउँसो सवा ४ बजे मच्छिन्द्रनाथलाई बुङ्मतीबाट गुरुज्यूको पल्टन र केही सुरक्षाकर्मीसहित आठ जना पानेजुले पालेपालो बोकेर ल्याएका थियौँ । आज यहाँ भक्तजनको खुबै चहलपहल बढेको छ ।’ मच्छिन्द्रनाथको रेखदेखमा आगामी आइतबारसम्मका लागि तःबहालमा आफ्नो पालो परेको पुजारी शाक्यले बताए ।
पाँच दिनअघिदेखि चोखो खाएर बसेका पुजारीले करुणामयलाई पाटन लगिसकेका ३२ पानेजु सङ्घका अध्यक्ष यज्ञरत्न शाक्यले जानकारी दिए । लोकेश्वरलाई पाटन ल्याउनुपूर्व बुङ्मतीका विभिन्न देवीदेवताको पूजा गरिएको पानेजु हेम बज्राचार्यले बताए । वृष्टिदेवलाई गत भदौ २९ गते दिउँसो ३ बजे पुल्चोकबाट खटमा बोकेर बुङ्मती लगिएको थियो । बुङ्मती लगिएको ५७ औं दिनमा नै यसपटक मच्छिन्द्रनाथलाई पाटन ल्याइएको हो ।
लोकेश्वरको मन्दिर बुङ्मतीमा हाल निर्माणाधीन रहेको छ । सो मन्दिर पछाडि रहेको अस्थायी मन्दिरमा मच्छिन्द्रनाथ राखिएको थियो । गत वर्ष कोरोना जोखिमका कारण मच्छिन्द्रनाथलाई गाःबहाल हुँदै मङ्गलबजार, सुन्धारा, लगनखेल र अन्त्यमा जावलाखेल नलगी एकैपटक रथ तानेर जात्रा समाप्त गरिएको थियो ।
रातो मच्छिन्द्रनाथलाई हिन्दूधर्माबलम्बिले भर्खरै उदाउन लागेको सूर्यनारायणका रूपमा लिन्छन् भने महायानी बौद्ध परम्परामा लोकेश्वरलाई अभिताभ बुद्धका रूपमा लिइन्छ । नेवार बौद्ध संस्कृतिमा आर्यावलोकितेश्वरको ठूलो महिमा रहेको मुनीन्द्ररत्न बज्राचार्यद्वारा लिखित पुस्तकमा उल्लेख गरिएको छ ।
किंवदन्तीअनुसार एकपटक भिक्षा माग्न आएका गोरक्षनाथलाई कान्तिपुरवासीले नदिएपछि त्यसैको झोकमा उनले पशुपति मृगस्थलीमा नवनागलाई आसन बनाए ।