काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १४औँ महाधिवेशन कार्यतालिका कोभिड–१९ को संक्रमणका कारण प्रभावित भएपछि महाधिवेशनको मिति संशोधन गर्ने तयारी गरेको छ । कांग्रेसले गत असार २२ गते केन्द्रीय महाधिवेशन आगामी फागुन ७ देखि १० गतेसम्म गर्ने गरी कार्यतालिका निर्धारण गरेको थियो ।
कोभिड–१९ कारण कार्यतालिकाअनुसारको क्रियाशीय सदस्यता र पार्टीको अन्तरिम संरचना समायोजन तालिका प्रभावित भइसकेको छ । पार्टीको क्रियाशीय सदस्यता वितरण र नवीकरण कार्य निर्धारित समयमै सम्पन्न नभएपछि अन्य अधिवेशन पनि प्रभावित हुने निश्चित छ ।
सोही कारण यही मंसिर अन्तिममा हुने केन्द्रीय कार्यसमिति बैठकबाट महाधिवेशन कार्यतालिका संशोधन गरिने पार्टी कार्यालयले जनाएको छ । कांग्रेसको विधानअनुसार आगामी फागुन २० गतेसम्म १४औँ महाधिवेशन उद्घाटन गरिसक्नुपर्छ ।
कांग्रेसको विधानमा पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यहरूको पदावधि चार वर्षको हुने र असाधारणस्थिति भएमा केन्द्रीय कार्यसमितिले सोको कारण खोली बढीमा एक वर्षसम्मको अवधि बढाउनसक्ने उल्लेख छ ।
कांग्रेसको १३औँ महाधिवेशन २०७२ साल फागुन २० देखि २३ गतेसम्ममा काठमाडौंमा भएको थियो । कांग्रेसले कोभिड–१९ को वर्तमान विषम परिस्थितिमा अब नेपालको संविधानमा भएको व्यवस्थाको सहारा लिएर महाधिवेशनको मिति सार्ने जनाएको छ ।
नेपालको संविधानको धारा २६९ मा राजनीतिक दलको विधानमा कम्तीमा पाँच वर्षमा एक पटक सो दलका संघीय र प्रदेश तहका प्रत्येक पदाधिकारीको निर्वाचन हुने व्यवस्था हुनुपर्ने उल्लेख छ । साथै विशेष परिस्थिति उत्पन्न भई पाँच वर्षभित्रमा पदाधिकारीको निर्वाचन सम्पन्न हुन नसकेमा ६ महिनाभित्र त्यस्तो निर्वाचन गर्न सकिने गरी राजनीतिक दलको विधानमा व्यवस्था गर्न बाधापर्ने छैन् भनी उल्लेख छ ।
कांग्रेस सहमहान्त्री डा.प्रकाशशरण महतले पनि फागुनमा महाधिवेशन गर्न कठिन देखिएको उल्लेख गर्दै भने, ‘मंसिरभित्र क्रियाशील सदस्यता विवरण केन्द्रमा पठाउने भनेको हो, केही ठाउँबाट त आउला, तर सबै ठाउँमा सम्पन्न हुन कठिन देखिरहेको छु ।’ उनले मंसिरसम्ममा क्रियाशील सदस्यताको विवरण आएपछि केन्द्रीय समिति बैठकमा समीक्षा हुने र फागुनमा महाधिवेशन हुने नहुने सम्बन्धमा निर्णय गरिने बताए ।
महाविधेशन कार्यतालिकाअनुसार कांग्रेसले गत साउन १० गतेभित्र समायोजन हुन बाँकी रहेका जिल्लाको पार्टीको अन्तरिम संरचना समायोजना गरिसक्नुपर्ने र केन्द्रीय कार्यालयले केन्द्रीय सभापतिबाट प्रमाणित क्रियाशील सदस्यताको नामावली अन्तिम सूची मंसिर मसान्तभित्र केन्द्रीय निर्वाचन समितिलाई बुझाउने अवधि तोकेको थियो । दुवै कार्यको निर्धारित मिति प्रभावित भइसकेको छ ।
पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले हालसम्म कुनै पनि जिल्लाको क्रियाशील सदस्यता विवरण केन्द्रमा आइनसकेकाले आगामी फागुनमा महाधिवशेन सम्भव नभएको बताए । फागुनमा महाधिवेशन गर्न पुसमा जिल्ला अधिवेशन सक्नुपर्ने बताउँदै उनले महाधिवेशन मिति संशोधन गर्ने सम्बन्धमा केन्द्रीय समितिको आगामी बैठकमा छलफल हुने जानकारी दिए ।
उनले भने, ‘सभापतिलाई महाधिवेशन छिटो गर्नुस् भनेका छौं, आगामी वर्षायाम अघि नै टुङ्ग्याउनुपर्छ ।’ हालको महाधिवेशन कार्यतालिकाअनुसार गाउँ/नगर वडा अधिवेशन आगामी पुस ६ गते, गाउँ÷नगरपालिका अधिवेशन पुस ८ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन पुस ११ गते गरिसक्नुपर्छ ।
यसैगरी प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन पुस १३ गते, एक भन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन पुस १६ गते, प्रदेश अधिवेशन माघ ६ गते र केन्द्रीय महाधिवेशन आगामी फागुन ७ देखि १० गतेसम्म गर्नुपर्ने हुन्छ ।
वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूहरु निर्धारित समयमै महाविधेशन गराउन पहल गरिरहेको उल्लेख गर्दै क्रियाशील सदस्यताको कामले ढिला गराउन लागेको आरोप लगाए । साथै उनले जिल्ला कार्यसमितिलाई क्रियाशील सदस्यता कार्य सम्पन्न गरेर चाँडै विवरण पठाउन भनिरहेको र सो विवरण आएपछि थप निर्णय हुने जानकारी दिए ।
कांग्रेसले महाधिवेशनको तयारीका लागि नयाँ क्रियाशील सदस्यता वितरण र नवीकरणको विवरण यही मंसिरभित्रै केन्द्रमा पठाउन जिल्ला सभापतिलाई निर्देशन दिएको भए पनि हालसम्म कुनै पनि जिल्लाबाट विवरण नआएको केन्द्रीय कार्यालयका सचिव केशव रिजालले जानकारी दिए । गत कात्तिक २८ गतेको केन्द्रीय समितिको बैठकले गरेको निर्णयअनुसार क्रियाशील सदस्यता वितरण र नवीकरणसम्बन्धी विवरण केन्द्रमा पठाउन सबै जिल्ला सभापतिलाई मंसिर २ गते निर्देशन गरिएको थियो ।
कांग्रेसको नेतृत्व चयनमा महत्वपूर्ण भूमिका रहने क्रियाशील सदस्यता संख्या हाल करिब पाँच लाख छन् । केन्द्रीय समितिको निर्णयअनुसार क्रियाशील सदस्यता वितरण र नवीकरण तथा अन्य पार्टीबाट प्रवेश गरेकालाई समेत प्रदान गर्दा सो संख्या दोब्बर हुने पार्टी कार्यालयले जनाएको छ । क्रियाशीय सदस्यता नवीकरणका लागि २०० र नयाँका लागि ३०० शुल्क निर्धारण गरिएको छ ।
यसैगरी पार्टीको जिल्ला समायोजन कार्य सप्तरी, बारा र सिन्धुपाल्चोकमा अझै बाँकी रहेको बताउँदै सचिव रिजालले समायोजन कार्य केही दिनमै सकिने जानकारी दिए । कांग्रेसमा गाभिएका विभिन्न राजनीतिक दलको समायोजन पनि अझै बाँकी छ । त्यस्ता दलसँगको क्रियाशील सदस्यता र सांगठनिक पद समायोजनको काम अन्तिमचरणमा पुगेको पार्टी कार्यालयले जनाएको छ ।