नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टी नेकपा यतिबेला राज्यबाट प्रतिबन्धित छ । २०७५ सालको फागुन २८ गते सरकारले विप्लव समूह आपराधिक संगठन भएको भन्दै सरकारले प्रतिबन्ध लगाउने घोषणा गरेको थियो ।
प्रतिबन्धपछि विप्लव समूहबाट र राज्य दुवैबाट केही हिँसाका घटनाहरू भए । विप्लव समूहका केही कार्यकर्ता मारिए पनि । हजारौंलाई प्रहरीले गिरफ्तार गरेर जेलमा राख्यो ।
तर गत मङ्सिर २३ गते मोरङको मिक्लाजुङ गाउँपालिका निवासी सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्रकुमार श्रेष्ठको हत्याले विप्लव समूहले जनयुद्धकै रिहर्सल गर्न लागेको त होइन भन्ने आशंका जन्माएको छ ।
मङ्सिर २३ गते बिहानै श्रेष्ठलाई नजिकैको जंगलमा लगेर घाँटी रेटेर हत्या गरिएको प्रहरीले पुष्टि गरेको छ । श्रेष्ठको हात पछाडि बाँधिएको र घाँटी रेटिएको अवस्थामा शव फेला परेको थियो ।
राजनीतिक गतिविधि गरेको दाबी गर्ने विप्लव समूहले कसैलाई नियन्त्रणमा लिएर व्यक्तिहत्या गरेको यो पहिलोपटक हो । विप्लव समूहले हत्याको जिम्मेवारी लिँदै श्रेष्ठ सुराकी रहेको र सम्झाउन जाने क्रममा मुठभेडमा उत्रिएपछि प्रतिकार गरेको बताएको छ ।
हत्या प्रतिहत्याका शृंखला
गत वर्ष जेठ ८ गते भोजपुरमा प्रहरी र विप्लवका कार्यकर्ताबीच भएको दोहोरो भीडन्तमा विप्लव समूहका तीर्थराज घिमिरे मारिए । त्यस्तै २०७६ साल असार ४ गते विप्लव समूहका नेता कुमार पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर हत्या गरेको भन्दै मानवाधिकार आयोगमा उजुरी परेको थियो ।
सरकारले पौडेलको हत्या प्रकरणमा सहभागी देखिएका प्रहरीलाई कारवाही गर्न सिफारिस गरिसकेको छ ।
त्यस्तै गतवर्ष जेठ १२ गते बेलुका सवा ४ बजे राजधानी काठमाडौँमा विप्लव समूहले बम बिष्फोट गरायो । विष्फोटमा परी सुकेधारामा कालीकोटका २७ वर्षीय दीपेन विक, बबई गाउँपालिका– ३ दाङका ३३ वर्षीय गोकुल राना मगर र ४५ वर्षका निरन्तर मल्लको मृत्यु भएको थियो ।
सोही समयमा काठमाडौंको अनामनगरमा प्रज्ज्वल शाहीको मृत्यु पनि मृत्यु भएको थियो । मृत्यु हुने सबै विप्लवकै कार्यकर्ता थिए ।
त्यस्तै विप्लव समूहले दुरसञ्चार कम्पनी एनसेलमा गराएको विस्फोटमा परी ललितपुरको नख्खुमा एक सर्वसाधारणको मृत्यु भएको थियो ।
विप्लव समूहका एक केन्द्रीय समिति सदस्य भन्छन् – ‘हत्याको शृंखला राज्यबाट नै शुरू भएको हो । अहिलेसम्म बरू हामी चुप बसेका थियौं । सुराकी गर्ने, हाम्रा नेता कार्यकर्तालाई मार्न लगाउने र गिरफ्तारी गर्नेविरुद्ध हामी यसै गरेर कडा रूपमा प्रस्तुत हुन्छौं ।’
प्रहरीको गोप्य ‘शुट एट साइट अर्डर’
व्यक्तिहत्यामै ओर्लेपछि विप्लव समूहका नेताहरूलाई भेट्नेबित्तिकै गोली हान्ने निर्देशन प्रहरीले दिएको उच्च स्रोतले बताएको छ । प्रहरीले आम जनतामाथि विप्लव समूहबाट सुरक्षा चुनौती रहेको भन्दै अनौपचारिक सर्कुलेसन पठाएको हो ।
गृहमन्त्री रामबहादुर थापा बादलले बुधवार सुरक्षा निकायका प्रमुखलाई बोलाएर शिक्षक श्रेष्ठको हत्यामा संलग्नलाई छिटो भन्दा छिटो पक्राउ गर्न निर्देशन दिएका थिए ।
गृहमन्त्रालयमा डाकिएको बैठकमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी प्रमुख शैलैन्द्र थापा, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी लगायत सहभागी थिए ।
समस्याको विकल्परहित समाधान – वार्ता
नेपाल प्रहरीका पूर्व डीआइजी हेमन्तप्रकाश मल्ल ठकुरी तत्काल वार्ता गर्नु नै यसको समाधान भएको बताउँछन् ।
सूत्रन्यूजसँग कुरा गर्दै ठकुरीले भने, ‘यो हत्या जनयुद्धकाललाई सम्झाउने खालको छ । कहिले बम विष्फोट भएको छ भने कहिले नियन्त्रणमा लिएर हत्या गर्न शुरू गरिएको छ । राज्यले तत्काल वार्ताको पहल गरेर विप्लव समस्यालाई समाधान गर्न ढिलो गर्नुहुँदैन ।’
उनले अब देशको परिस्थिति २०५२ सालतिरै फर्किन खोजेको जस्तो देखिएको बताए । ‘अब झन् काउन्टर इन्काउन्टर बढ्ने जस्तो देखिन्छ,’ उनले भने, ‘राज्य होस् या विद्रोही, दुवैको निशाना जनता नै हुने जस्तो देखियो । यसको समाधान वार्ता नै हो ।’
संविधानविद डाक्टर भीमार्जुन आचार्यले अपराधीलाई कानूनसम्मत दण्ड दिनुपर्ने बताए । ‘राजनीतिक आवरणमा यस्ता घटनालाई छोप्नु हुँदैन,’ आचार्यले भने ।
सर्वदलीय बैठकमा उठेको थियो कुरा !
गत मङ्सिर २३ गते बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले हत्या हिंसाका शृंखला बढेको भन्दै विप्लव समूहलाई माफ नगरिने चेतावनी दिएका थिए ।
‘कुनै पनि आवरणमा हिँसाको संरक्षण हुँदैन,’ बैठकमा ओलीले भनेका थिए, ‘सरकारले हिंसात्मक गतिविधि गर्नेलाई कानूनअनुसार दण्ड दिनेछ ।’
यसबाहेक सडकमा राजावादीहरूको आन्दोलन चर्किएको विषयमा पनि ओलीले अन्य दलका नेताहरूसँग बैठकमै छलफल गरेका थिए ।
ओलीले नेकपाको सचिवालयमा बुझाएको ३८ पृष्ठको जवाफी प्रतिवेदनमा पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विप्लवप्रति नरम बनेको आरोपसमेत लगाएका थिए ।
२०७६ सालको वैशाखमा प्रदेश १ मा आयोजित सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री बादलले विप्लव समूहको गतिविधि निस्तेज भएको दाबीसमेत गरेका थिए । तर विभिन्न समयमा सरकारबाट सार्वजनिक भएका सुरक्षा चुनौतीहरूमा विप्लव समूह पहिलो नम्बरमा पर्ने गरेको छ ।
प्रतिबन्धपछि सरकारले गर्यो विप्लव समूहबाट ६६ हतियार बरामद
विप्लव समूहलाई प्रतिबन्ध लगाएको २ वर्ष पुग्नै लागेको छ । प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार अहिलेसम्म प्रहरीले विप्लव समूहबाट ६६ हतियार बरामद गरिसकेको छ ।
विप्लव समूहले हालसम्म देशमा १८ पटक विष्फोटनको घटना गराएको प्रहरी बताउँछ । प्रहरी स्रोतका अनुसार ९० भन्दा बढी ठाउँमा राखिएका विष्फोटक पदार्थलाई सुरक्षा निकायले निष्क्रिय पारेको छ ।
विप्लव समूहलाई सरकारले प्रतिबन्ध गरेलगत्तै हातहतियार बुझाउन ३५ दिने सूचना जारी गरेको थियो । गृहको सूचनापछि हालसम्म ५ सय भन्दा बढी हतियार संकलन भएको प्रहरी स्रोत बताउँछ ।