सडकदेखि सदनसम्म सरकारमाथि चर्को दबाब सृजना गर्छौंः सभापति देउवा-Sutra News

सडकदेखि सदनसम्म सरकारमाथि चर्को दबाब सृजना गर्छौंः सभापति देउवा

आइतबार, २८ मंसिर २०७७

आइतबार, २८ मंसिर २०७७

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अब सरकारले सडकदेखि संसदसम्म सरकारलाई तीब्र दबाब दिने बताएका छन् ।



आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै उनले भनेका छन्, ‘कांग्रेसले सडकदेखि संसदसम्म अब सरकारलाई तीब्र दबाब दिनुछ र जनताको वितृष्णालाई सम्बोधन गर्न संयम् तर, शसक्त ढंगले अघि बढ्नुछ, भोलिको प्रदर्शन सांकेतिक मात्रै हो ।’

प्रतिपक्षी भूमिकामा भएपनि सडकदेखि सदनसम्म कांग्रेस सत्ता साझेदारझैँ देखिएको भन्दै पार्टीभित्रैबाट सभापति देउवाको विरोध हुँदै आएको छ ।

प्रतिपक्षीको थलो भनिएको संसद् पाँच महिनादेखि बन्द जनताको पक्षमा आफ्नो आवाज बोल्न नसकेको कांग्रेसले सरकारका गलत गतिविधिकाविरुद्ध सोमबार ७७ वटै जिल्लामा सडक प्रदर्शन गर्दैछ ।

सभापति देउवाले कोरोनाको संक्रमण फैलिन नदिन सचेतना अपनाएर सडक प्रदर्शनमा सहभागी हुन आग्रह गरेका छन् । ‘कोरोना महामारीको यो समयमा प्रदर्शनमा भौतिक दूरी कायम राख्न र मास्क प्रयोग प्रभावकारी गराउन आग्रह गर्दछु ।’ सभापति देउवाले भनेका छन् ।

देउवाले मुलुकलाई हरेक चुनौतीको घडीमा निकास र नेतृत्व दिएको कांग्रेस अहिले प्रतिपक्षको हैसियतमा पनि जिम्मेवारपूर्ण व्यवहारका साथ देश, लोकतन्त्र र जनताप्रतिको जवाफदेहितामा गम्भीर रहेको दाबी गरेका छन् ।

‘प्रतिपक्षका रूपमा कांग्रेसले निरन्तर शालीन, संवादमैत्री र जिम्मेवार भूमिका निभाउँदै आयो, तर वर्तमान सरकारले एकातर्फ त्यसलाई कमजोरीका रूपमा बुझ्ने धृष्टता ग-यो भने अर्कातर्फ भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षामा आफूलाई केन्द्रित गर्दै लग्यो,’ देउवाले विज्ञप्तिमार्फत् भनेका छन्, ‘यसकारण नेपाली जनतामा सरकारप्रति व्यापक वितृष्णा फैलिएको छ, यो अहिलेको अवस्थाप्रतिको वितृष्णा हो ।’

जनताले लामो संघर्षबाट स्थापित गरेको संघीय, लोकतान्त्रिक गणतन्त्र मार्फत सार्थक परिणामको अपेक्षा जनताले राख्नु जनताको स्वाभाविक हक भएको देउवाको भनाइ छ ।

‘तनहुँको पछिल्लो घटना होस् या देशका कैयन भागमा भएका उत्पीडन, दमन र विभेदका घटना हरेक नेपाली गम्भीर हुन जरुरी छ,’ विज्ञप्तिमा उल्लेख छ ।

देउवाले ट्रान्सपरेन्सी ईन्टरनेशनलको पछिल्लो प्रतिवेदनले एशियामै सबैभन्दा बढी भ्रष्टाचार भइरहेको देशका रूपमा नेपाललाई चित्रित गर्दा हरेक नेपालीलाई लज्जित तुल्याएको बताएका छन् ।

उनले सरकारले कोरोनाबाट जनताको रक्षा गर्ने गम्भीर दृष्टि र सुविचारित कार्ययोजना नबनाउँदा सयौंको मृत्यु भएको, हरेक नेपालीले मृत्युको सन्त्रास भोग्नु परेको, ठोस कार्यक्रम नहुँदा मुलुकको अर्थतन्त्र झनै कमजोर बनेको बताएका छन् ।

‘कोरोनाका कारण उपचार नपाएर आफन्तको मृत्यु भोगेको परिवार, बढ्दो महिला हिंसा र बलात्कारका घटनाले आक्रान्त भएको समाज, खेतीको बेला मल नपाएर छट्पटिएको किसान, लकडाउनका बेला भोकका कारण सयौं किलोमिटर पैदल हिंडेर गाउँ फर्किएको श्रमिक, व्यापार ठप्प हुँदापनि राहत पुग्ने ढंगले कर छुट नपाएका, टाट पल्टिएका र आर्थिक चुनौती ब्यहोरिरहेका साना व्यवसायीदेखि ठूला उद्योगीसम्म। रोजगारी गुमाएको अनि रोजगारी पाउने सुदूर सम्भावना नदेखिरहेको युवा, शिक्षक, कर्मचारी, अपांगता भएका नागरिक, एकल महिलादेखि बुद्धिजीविसम्म हरेकले यो घडी पीडा भोगिरहेका छन्,’ विज्ञप्तिमा लेखिएको छ ।

Sher Bahadur Deuba.jpg

Congress President Sher Bahadur Deuba.jpg

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट