काठमाडौं– प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा अनुपस्थित हुने भएपछि संवैधानिक परिषद्को बैठक स्थगित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान ९ बजेका लागि परिषद्को बैठक बोलाएका थिए ।
विपक्षी दलका नेता एवं नेपाली कांग्रेसका सभापति देउवाले २९ मंसिरको प्रदर्शन अगाडि बस्ने बैठकमा नआउने सन्देश शनिबार पठाएपछि बैठक स्थगित भएको हो ।
सरकारको सर्वसत्तावाद, दमन र बेथितिविरुद्ध भन्दै कांग्रेसले मंसिर २९ मा देशव्यापी विरोध प्रदर्शन गर्दै छ । पुल उद्घाटनको विवादलाई लिएर मंसिर १७ मा तनहुँमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई स्थानीय प्रशासनले गिरफ्तार र दुर्व्यवहार गरेपछि कांग्रेसले सरकारविरुद्ध प्रदर्शनको घोषणा गरेको हो । प्रदर्शनअघि नै परिषद्को बैठकमा जाँदा सत्तासँग मिलेको सन्देश जानसक्ने बुझेर देउवालाई बैठकमा नजान पार्टीबाटै दबाब परेको थियो । नेता पौडेलले देउवालाई भेटेरै बैठकमा नजान आग्रह गरेका थिए ।
कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवं प्रजातन्त्रका सेनानी श्यामलाल श्रेष्ठको निधनमा शोक प्रस्ताव पारित गर्न शनिबार बोलाइएको आकस्मिक बैठकपछि परिषद् बैठकमा जाने/नजानेबारे देउवा र पौडेलबीच केहीबेर छलफल भएको थियो । नियुक्तिको सिद्धान्त र मापदण्ड तय नभइकनै परिषद् बैठकमा गएर प्रधानमन्त्रीका खल्तीका मान्छे नियुक्ति गर्न जान नहुने तर्क पौडेलले राखेका थिए । त्यसमा पनि २९ गतेको प्रदर्शनअघि जानै नहुने अडानमा उनी अडिग थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान ९ बजेका लागि परिषद्को बैठक बोलाएका थिए । अख्तियार दुरुपयोग, अनुसन्धान आयोग, निर्वाचन आयोग, महिला आयोगलगायतका संवैधानिक निकायमा लामो समयदेखि पदपूर्ति हुन सकेको छैन ।