नयाँ चालक अनुमतिपत्र अझै दुई महिना नखुल्ने-Sutra News

नयाँ चालक अनुमतिपत्र अझै दुई महिना नखुल्ने

आइतबार, २८ मंसिर २०७७

आइतबार, २८ मंसिर २०७७

काठमाडौं- नयाँ सवारी चालक अनुमतिपत्र अझै दुई महिना नखुल्ने भएको छ । झण्डै नौ महिनादेखि बन्द रहेको सेवा तत्काल खुलाउँदा धेरै सेवाग्राहीको भीड लाग्ने र संक्रमण फैलनसक्ने भनी तत्काल नखुलाउने गरी छलफल अघि बढेको हो ।



भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको यातायात व्यवस्था विभागले प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयसँगको छलफलमा तत्काल खुलाउन नहुने भनी अझै केही महिना रोक्ने गरी योजना बनाइएको विभागका प्रवक्ता डा.लोकनाथ भुसालले बताए । उनका अनुसार पुस र माघ महिनाभर अनुमतिपत्र खुला नगर्ने योजना बनाइएको छ । उनले भने, ‘त्यसपछिको अवस्था हेरेर निर्णय गरिनेछ ।’

लामो समयसम्म अवरुद्ध भएकाले तत्काल खुलाउँदा सेवाग्राहीको धेरै भीड हुनसक्ने देखिएको प्रवक्ता डा.भुसालले बताए ।

नयाँ अनुमतिपत्रका लागि परीक्षा लिने र वितरणको काम प्रदेश सरकारले गर्ने भए पनि छाप्ने काम र त्यसको ‘अनलाइन सिस्टम’ विभागसँग हुन्छ ।

त्यसैले पनि प्रदेश सरकारले विभागसँगको समन्वयमा मात्रै नयाँ अनुमतिपत्र खुलाउने उनको भनाइ छ । धेरै सेवाग्राहीले ‘अनुमतिपत्र कहिले खुल्छ’ भन्दै विभागमा चासो राखेपछि सम्बन्धित प्रदेशमा नै बुझ्न भनिएको उनले बताए ।

प्रदेशले पनि हतारमा खुलाउनेभन्दा तत्काल स्वास्थ्य सुरक्षामा ध्यान दिनुपर्ने धारणा राखेका छन् । उनले भने, ‘सेवाग्राहीले हतार गरे पनि संघीय सरकार र प्रदेश सरकार दुवैले अहिले नखुलाउने सोचेका छन् ।’

विश्वव्यापीरुपमा फैलिरहेको कोभिड–१९ संक्रमण नेपालमा समेत देखिन थालेपछि सरकारले गत चैतमा बन्दाबन्दी लागू गर्ने निर्णय गरेको थियो । चार महिनासम्म ठप्प भएको सरकारी कार्यालय असारमा मात्रै खुलेका थिए । असारमा यातायात कार्यालयले नवीकरण र वितरण सुरु गरे पनि नयाँ चालक अनुमतिपत्रका लागि परीक्षा लिएका छैनन् ।

विगतमा वर्षमा सेवाग्राहीले अनुमतिपत्र लामो समयसम्म नपाउने गरेकामा यो वर्ष भने विभागले पुरानो बाँकी अनुमतिपत्र छापिसकेको छ । विभागले ‘मास प्रिन्टर’ बाट झण्डै आठ लाख अनुमतिपत्र छपाइ गरेको थियो ।

पहिले सेवाग्राहीले लामो समय बित्दा पनि अनुमतिपत्र पाएका थिएनन् भने अहिले धेरैले चाहेर पनि अनुमतिपत्रका लागि परीक्षा दिन पाएका छैनन् । सवारी तालीम केन्द्रले भने अनुमतिपत्र चाँडै खुल्ने भन्दै प्रशिक्षण दिइरहेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट