‘कोभ्याक्स’ मार्फत् ६० लाख नेपालीलाई पुग्ने खोप उपलब्ध हुने-Sutra News

‘कोभ्याक्स’ मार्फत् ६० लाख नेपालीलाई पुग्ने खोप उपलब्ध हुने

आइतबार, २८ मंसिर २०७७

आइतबार, २८ मंसिर २०७७

लण्डन– कोरोना भाइरसविरुद्धको खोपको साझा विकास र उचित वितरण अभियान ‘कोभ्याक्स’ सुविधामार्फत् नेपालमा पनि जनसंख्याको २० प्रतिशत अर्थात् करीब ६० लाख नेपालीलाई पुग्ने गरी खोप उपलब्ध हुने गैरआवासीय नेपाली संघले जनाएको छ ।



गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार कोभ्याक्स सुविधामार्फत् न्यून आय आएका नेपाल जस्ता मुलुकमा खोपको सहज वितरण गरिने भएकाले नेपालमा पनि ६० लाख मानिसका लागि कोरोनाविरुद्धको खोप उपलब्ध हुनेछ । यद्यपी यसका लागि सबैभन्दा पहिले खोपको सफलता नै आवश्यक भएको समितिका संयोजक डा. सञ्जिव सापकोटाले जानकारी दिए ।

हाल विश्वभर ५८ वटा खोपे कोरोनाविरुद्धको खोपको क्लिनिकल ट्रायल भइरहेको छ । तीमध्ये १५ वटाको परीक्षण अन्तिम चरणमा छ । अमेरिकी र जर्मन साझेदार कम्पनी फाइजर र बायोएनटेकले निर्माण गरेको खोपलाई भने ५ वटा मुलुकले अनुमति दिइसकेका छन् । सो खोप ९५ प्रतिशत प्रभावकारी रहेको बताइएको छ ।

हालसम्म बेलायत, बहराइन, क्यानडा, अमेरिका र मेक्सिकोले सो खोपको आपतकालिन प्रयोगका लागि अनुमति दिएका हुन् । पहिलो चरणमा उच्च जोखिममा रहेका बिरामी र वृद्धवृद्धालाई सो खोप दिइनेछ । नेपालमा पनि सोही खोप ल्याउन सकिने संकेत सरकारी अधिकारीहरुले गरेका छन् यद्यपी सो विषयमा औपचारिक निर्णय भएको छैन ।

कोरोना भाइरस कोभिड–१९ संक्रमणबाट हालसम्म विदेशमा करिब ५० हजार नेपालीहरु प्रभावित भएका छन् । गैरआवासीय नेपाली संघ ९एनआरएनए० का अनुसार नेपाल बाहेक ४९ देशका ४९ हजार २ सय ५७ जना नेपालीमा कोरोना संक्रमण भएको हो ।

स्वास्थ्य समितिका संयोजक डा.सन्जीव सापकोटाका अनुसार हालसम्म विदेशमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ४६ हजार ३८ जना रहेको छ । यो कुल संक्रमितको ९३ प्रतिशत रहेको हो ।

विश्वका विभिन्न २० मुलुकमा कोरोना भाइरसको संक्रमणबाट निधन हुने नेपालीको कुल संख्या ३ सय १ पुगेको छ । सापकोटाका अनुसार यो साता साइप्रस, जापान, भारत, रोमानिया, स्पेन, कतार, युएई, र साउदी अरबमा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा मात्र २ लाख ४७ हजार ५ सय ९३ जना कोरोना भाइरसबाट संक्रमित पुगेका छन भने ती मध्ये २ लाख ३४ हजार २ सय ३१ जना कोरोना मुक्त भएका छन् ।

नेपालमा कोरोना संक्रमणबाट मुक्त हुने दर ९४ दशमलव ६ प्रतिशत रहेको छ । नेपालमा कोरोना भाइरसको संक्रमणको कारणले १ हजार ६ सय ८९ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट