काठमाडौं- सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार कोरोना संक्रमण भई सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत थप दुई महिलाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा कैलालीकी ५५ वर्षीया र ७५ वर्षीया महिला रहेको अस्पताल स्रोतले जानकारी दिएको छ । हालसम्म प्रदेशमा ४६ जना संक्रमितको मृत्यु भएको छ ।
हाल सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमणको जटिल अवस्थाका १० जनाको सघन उपचारमा र तीन जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । सामाजिक विकास मन्त्रालयका अनुसार सुदूरपश्चिममा हाल सक्रिय संक्रमितको संख्या २ हजार ३२५ रहेको छ ।
पछिल्लो २४ घण्टामा कैलाली, कञ्चनपुर, अछाम, बझाङ, डडेलधुरा र डोटी जिल्लाका गरी थप ६९ जनामा संक्रमण पुष्टि भएको छ । आज थपिएकासमेत गरी हालसम्म प्रदेशमा कूल संक्रमित १२ हजार ३७८ पुगेको छ ।