प्रधानमन्त्रीसमेत रहेका सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली बैठकलाई परपर सार्ने रणनीतिमा सफल देखिएका छन् ।
आइतवार बसेको स्थायी कमिटी बैठक पुस १ गतेसम्मका लागि स्थगित भएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले आफ्नो अडानविपरित बैठक धकेलिँदा पनि केही गर्न सकेको छैन ।
आइतवार बसेको बैठकमा नेकपाका केन्द्रीय कमिटी सदस्य रहेका स्वर्गीय कमानसिंह लामाको निधनमा शोक प्रस्ताव पारित गरिएको थियो ।
अध्यक्ष प्रचण्डले एक महिनाअघि सचिवालयमा पेश गरेको ‘आरोपपत्र’माथि आइतवार छलफल हुने अपेक्षा स्थायी कमिटी सदस्यहरूले गरेका थिए । तर बैठक शोक प्रस्तावमा सीमित रह्यो ।
बैठक सार्न माग गर्दै प्रचण्डकहाँ ओलीका दुत !
आइतवार बिहान स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ प्रचण्डनिवास खुमलटार पुगे । उनले बैठक स्थगित गर्न प्रचण्डलाई आग्रह गरेका थिए ।
‘बैठकलाई थप केही दिन स्थगित गरेर तपाईंहरू दुई अध्यक्षबीच सहमति गर्ने प्रयास गरौँ,’ नेम्वाङको भनाइ उदृत गर्दै खुमलटार स्रोतले भन्यो, ‘पार्टी एकतादेखि महाधिवेशनसम्म दुई अध्यक्षबीचकै सहमतिमा पार्टी चलाउने कुरा विधानमा पनि उल्लेख छ । यसर्थ तपाईंहरू भेटवार्ता गर्नुहोस्, सहमतिमा पुग्नुहोस् । त्यसपछि बैठक बसेर सहमतिलाई वैधानिकता दिऔं ।’
प्रचण्डले नेम्वाङलाई बैठक रोक्न नसकिने तर सहमति खोजेकै हो भने एक दुई दिन पर्खिन सक्ने सन्देश दिएका थिए ।
‘आजको बैठक रोकिन्न,’ प्रचण्डले नेम्वाङलाई जवाफ दिए, ‘बरू आज शोक प्रस्ताव पारित गरौँ र थप २ दिनको समय लिऔं । सबै विवाद कमिटीमा पुगिसकेको छ । हामीले बैठक रोकेर रोकिनेवाला छैन अब ।’
शनिवार ओलीले आफ्ना विश्वासपात्रसमेत रहेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई खुमलटार पठाएका थिए । पोखरेललाई पनि बैठक रोक्न नसकिने बरू ओली बैठकमै उपस्थित भएर आफ्ना कुरा सन्देश प्रचण्डले पठाएका थिए ।’
प्रचण्ड-नेपाल समूह – बोलीमा कडा तर व्यवहारमा लाचार !
केही दिनयता प्रचण्ड-नेपाल समूहले विभिन्न ठाउँहरूमा गुटगत भेला आयोजना गरेको छ । कतिपय भेलामा प्रचण्ड र नेपाल आफैं सहभागी हुने गरेका छन् भने कतिपयमा आफ्ना नेताहरूलाई पठाउने गरेका छन् ।
केही दिनअघि भएको वागमती प्रदेशस्तरीय भेलामा प्रचण्डले ओलीको बुहार्तन अब धेरै सहन नसकिने भन्दै कडा अभिव्यक्ति दिए । ‘अपमान धेरै भयो ओलीबाट,’ प्रचण्डले सम्बोधन गर्दै भनेका थिए, ‘अब सँगै बसेर पनि हार्दिकता नदेखिने भयो । हामीले पार्टी एकताका लागि धेरै त्याग गर्यौं तर ओलीबाट केही भएन ।’
भेलामा बोल्दै नेता नेपालले प्रचण्डले सचिवालयमा पेश गरेको डकुमेन्ट सबैको सामूहिक भएको भन्दै त्यसलाई फिर्ता नलिने अडान राखे । नेता नेपालले यस्ता भेला गर्दै जानुपर्ने भन्दै नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिएका थिए ।
शनिवार तत्कालीन माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडामा पनि प्रचण्ड-नेपाल समूहले भेलाको आयोजना गरेका थिए । भेलामा करीब ३० जना जिल्लास्तरीय नेता तथा कार्यकर्ता सामेल भएका थिए ।
भेलामा बोल्दै वागमती प्रदेशकी इन्चार्ज नेतृ अष्टलक्ष्मी शाक्यले बहुमतबाट चल्नु नै विधिसम्मत भएको भन्दै ओली पार्टीमा नरहेपनि केही फरक नपर्ने अभिव्यक्ति दिएकी थिइन् ।
तर प्रचण्ड-नेपाल समूहले जतिसुकै कडा अभिव्यक्ति दिने गरेको भएपनि व्यवहारमा ओलीकै लागि बैठक स्थगित गरिरहेको छ ।
स्थायी कमिटीको अर्को बैठक पुस १ गतेका लागि डाकिएको छ । ‘पुस १ गतेदेखि हामी कडारूपमा प्रस्तुत हुन्छौं,’ नेता नेपालपक्षीय स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले भने, ‘ओलीलाई बैठकमा सहभागी गराएका छौं । उहाँ पनि उपस्थित भएको बैठकले निर्णय गर्नु राम्रो हो । त्यही भएर उहाँकै अनुरोधमा हामीले बैठकलाई धकेल्ने गरेका हौँ । तर अबका बैठकहरू निर्णयउन्मुख हुनेछन् ।’
विभाजन नै हुने गरी अघि नबढौं – प्रचण्ड, विभाजन भए पार्टी मैले सम्हाल्छु – नेपाल
प्रचण्ड-नेपाल समूहका पछिल्ला गतिविधिले समूहमै मतान्तर बढिरहेको देखिन्छ । नेता नेपालसँगको भेटमा प्रचण्डले भन्ने गरेका छन् – ‘विभाजनमै जाने गरेर निर्णय नलिऔं ।’
तर नेता नेपालले प्रचण्डलाई पार्टी विभाजनको अवस्था आए आफूले सम्हाल्ने भन्दै ओलीमाथि जसरी पनि कारवाही गर्नुपर्ने बताउने गरेका छन् ।
नेता नेपालले आफूनिकट नेता कार्यकर्तासँग प्रचण्ड लचिलो हुन खोजेको सन्देश दिएका छन् । ‘प्रचण्डजी लचिलो हुनुभएको हो कि जस्तो मलाई लागेको छ,’ उनको भनाइ उदृत गर्दै उनलाई भेट्न गएका एक केन्द्रीय कमिटी सदस्यले सूत्रन्यूजसँग भने, ‘ओलीसँग गएर फ्याट्टै सहमति गर्दिने हो कि भन्ने चिन्ता छ ।’
उनको यो भनाइलाई पूर्व माओवादी समूहका स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले पनि पुष्टि गरेका छन् । ‘अध्यक्षद्वयबीच सहमति हुनै पर्छ, त्यसको विकल्प नै छैन,’ रायमाझीले भने, ‘विभाजनमा जानु हुँदैन भनेर सबै नेताहरूले भनिरहनु भएको छ । विभाजन भयो भने पार्टीलाई सम्हाल्न कसैले सक्दैन ।’
नारायणकाजी श्रेष्ठविरुद्ध बालुवाटार नै परिचालन भयो – प्रचण्ड
आइतवार बसेको स्थायी कमिटी बैठकमा प्रचण्डले प्रवक्ता नारायणकाजी श्रेष्ठको बचाउ गरे । उनले बालुवाटारको नामै नलिई भने, ‘पार्टी विभाजनविरोधी तत्वहरूले प्रवक्ता श्रेष्ठको राजनीतिक जीवन नै समाप्त पार्नेगरी प्रोपोगान्डा चलाएका छन् । प्रधानमन्त्रीनिकट रहेकै सञ्चारमाध्यमहरूले यस्तो प्रोपोगान्डा चलाउनु सही होइन ।’
प्रचण्डको आरोपलाई ओलीले खण्डन गरेनन् । ओली आधा घण्टा चलेको बैठकमा चुप बसे । यसअघिका बैठकहरूमा ओलीले आफू कुनै हालतमा अध्यक्ष र प्रधानमन्त्री नछाड्ने भन्दै प्रचण्ड-नेपाल पक्षलाई चेतावनी दिने गर्थे ।
प्रवक्ता श्रेष्ठ आफ्नी स्वकीय सचिव सुसन कर्माचार्य र भर्खरै निधन भएका कमानसिंह लामाबीचको लेनदेन विवादमा मुछिएका छन् । हाइड्रो कम्पनीको सेयरका विषयमा श्रेष्ठले लामा र कर्माचार्यबीच मध्यस्थता गरिरहेको अडियो र भिडियो सार्वजनिक भएको थियो ।
यो पनि – बहुमतलाई झुक्न बाध्य पार्ने हतियार: ओलीसँग के छ त्यस्तो ?
यो पनि –प्रधानमन्त्रीमाथि सर्वदलीय बैठकमा देखिएको आक्रोश – ‘ओलीले बालुवाटारलाई नै देश ठाने !’
यो पनि – स्थायी कमिटी बैठकमा उपस्थित हुन ‘फेस सेभिङ’ खोज्दै ओली