चितवन राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रमा भालेको अभाव-Sutra News

चितवन राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रमा भालेको अभाव

सोमबार, २९ मंसिर २०७७

सोमबार, २९ मंसिर २०७७

चितवन- चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गोही प्रजनन केन्द्रमा भालेको अभाव भएको छ । त्यहाँ रहेको एउटा भालेले प्रजननमा काम गर्न छाडेपछि अभाव भएको हो ।



निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काका अनुसार भालेले काम नगरेपछि गत वर्ष त्यहाँका ११ वटा पोथीले पारेका ३०० हाराहारी अण्डा खेर गएका छन् । चैत महिनापछि गोहीले अण्डा पार्दछन् । हाल रहेको भाले ४२ वर्ष उमेरको छ ।

अन्तर्राष्ट्रिय अनुसन्धानमा भालेले ५० वर्षसम्म प्रजनन गर्नसक्ने भनिए पनि यहाँको भालेले काम नगरेको खड्काको भनाइ छ । गोहीको उमेर मानिस सरह हुने बताइन्छ । खड्काले भने, ‘पछिल्ला वर्षहरुमा अण्डाबाट बच्चा कोरिलने क्रम घट्दै थियो । गत वर्ष त शून्य भयो ।’

यस वर्ष समयमै भाले ल्याउन नसके प्रजनन केन्द्रमा पारेका अण्डा खेर जानेछ । उक्त भालेको वीर्यमा समस्या भएको हुनसक्ने बताउँदै खड्काले नेपालमा यससम्बन्धी परीक्षण गर्न चिकित्सक नभएको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट