काठमाडौं- नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसका कुनै पनि सदस्यलाई जिस्क्याउनु भनेको सुतेको बाघलाई जिस्क्याउनु जस्तै भएको बताएका छन् । देशव्यापी प्रदर्शनका क्रममा हेटौंमा आयोजित आमसभालाई सम्बोधन गर्दै प्रवक्ता शर्माले सो कुरा बताएका हुन् ।
उनले १७ मंसिरमा तनहुँमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पुल उद्घाटनका क्रममा गिरफ्तार गरेको प्रसंग निकाल्दै कांग्रेसका कुनै पनि सदस्यलाई नजिस्क्याउन सरकारलाई चेतावनी दिए ।
‘तनहुँमा रामचन्द्र पौडेल जानुभयो, कुन गल्ती गर्नुभयो र ? जर्वजस्ती निषेधाज्ञा जारी गरेर रोक्ने प्रयत्न गरियो । भोलिपल्ट पुल उद्घाटन भयो, सत्ताले रोक्न सकेन । कांग्रेसका एउटामात्रै सदस्यलाई पनि जिस्क्याउने प्रयत्न गर्नु भनेको सुतेको बाघलाई जिस्क्याउने प्रयत्न गर्नु हो, होसियार !’
प्रवक्ता शर्माले पूर्वएमाले र माओवादीबीच सत्ताका लागि मात्र एकता भएकाले सत्तारुढ दल पार्टीभित्र विवाद खडा गरेर समय गुमाइरहेको बताए ।
‘एमाले र माओवादीलाई मत दिनेहरूलाई सोध्न चाहन्छु,’ उनले भने, ‘जनता मर्दै गर्दा बालुवाटारमा यस्तै लडाइँ होस् भनेर मत दिनुभएको थियो ।’
जनतामा वितृष्णा बढेको बेला कांग्रेस सडकमा आएको भन्दै उनले सरकार बाहिर भए पनि जनताको हितमा नै कांग्रेस अघि बढ्ने बताए । उनले अहिलेको अवस्थामा कांग्रेस सरकारमा नजाने स्पष्ट पारे ।