काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री गगन थापाले कोरोना रोकथाम र नियन्त्रणका लागि सरकारले सिन्कोसमेत नभाँचेको बताएका छन् । सरकारविरुद्ध कांग्रेसले गरेको देशव्यापी प्रदर्शनमा धनगढीमा आयोजित आमसभालाई सम्बोधन गर्दै नेता थापाले सो कुरा बताएका हुन् ।
लकडाउनका नाममा जनतालाई महिनौं घरमा थुनेर सरकारले कोरोना नियन्त्रणको लागि सिन्को नभाँचेको नेता थापाको आरोप छ । उल्टै स्वास्थ्य सामग्री खरिदमा सरकारले भ्रष्टाचार गरेर सिंगो विश्वसामु शिर झुकाउने अवस्था सिर्जना गरेको पनि उनले बताए ।
त्यसैगरी नेता थापाले सरकार ठेगानमा नआएसम्म कांग्रेस सडकबाट नफर्कने बताएका छन् । सरकारले नै कांग्रेसलाई सडकमा जान बाध्य पारेको उल्लेख गर्दै उनले अब सरकार नसुध्रेसम्म नफर्कने उल्लेख गरे ।
नेता थापाले करिब दुई तिहाइ बहुमतसहितको शक्तिशाली सरकारले जनतालाई भने शक्तिशाली बनाउने एउटै काम नगरेको आरोप लगाए ।