काठमाडौं- कोरोना संक्रमण रोकथामका लागि नौ महिनादेखि बन्द रहेको सिनेमा हल आगामी पुस १० गतेबाट सञ्चालनमा आउने भएको छ । नेपाल चलचित्र संघले सोमवार पत्रकार गर्दै सरकारले फिल्म क्षेत्रको अस्तित्व स्वीकार नगरेको भन्दै सिनेमा हल खोल्ने घोषणा गरेको हो ।
संघले जारी गरेको विज्ञप्ति भनिएको छ, ‘आजसम्म सरकारले चलचित्र घर सञ्चालन गर्नेतर्फ कुनै चासो नदिएकाले संघले बाध्य भएर मिति २०७७ साल पुस १० गते शुक्रवारदेखि सरकारको स्वास्थ्य सुरक्षा विधि तथा डब्लूएचओको सुरक्षा मापदण्ड अपनाई चलचित्र घरहरु सञ्चालन गर्ने तथा सरकार समक्ष निम्न मागहरु राखी चरणबद्ध रुपमा आन्दोलन गर्ने निर्णय भएको छ ।’
सिनेमा हल सञ्चालनसँगै विभिन्न माग राख्दै संघ आन्दोलन पनि गर्ने तयारीमा छ । चलचित्र क्षेत्रलाई अति प्रभावित क्षेत्रमा सम्बोधन हुनुपर्ने, सिनेमा हल घर सञ्चालन नभएको अवधिको विद्युत महशुल डिमाण्ड चार्ज पूर्ण रुपमा मिनाह हुनुपर्ने, मौद्रिक नीति चलचित्र क्षेत्रमा अनिवार्य रुपमा कार्यान्वयन हुनुपर्ने, मनोरञ्जन कर खारेज हुनुपर्ने लगायतका माग चलचित्र संघले राखेको छ ।