राष्ट्रिय कविता महोत्सवः नुवाकोटकी भूगोल प्रथम-Sutra News

राष्ट्रिय कविता महोत्सवः नुवाकोटकी भूगोल प्रथम

सोमबार, २९ मंसिर २०७७

सोमबार, २९ मंसिर २०७७

काठमाडौं- राष्ट्रिय कविता महोत्सव २०७७ मा नुवाकोटकी भैरवी भूगोल प्रथम भएकी छिन् । उनको कविता ‘नेपालको गीत’ ले प्रथम स्थान हासिल गर्न सफल भएको हो ।



यस्तै लमजुङका प्रज्वल अधिकारीको कविता ‘सङ्कल्प’ ले द्वितीय स्थान हासिल गरेको छ । सोलुखुम्वुका गणेशप्रसाद खतिवडाको ‘आमाको आदेश’, दोलखाकी देवकी अभिलाषीको ‘आमा एक विश्वविद्यालय’ र तेह्रथुमकी रेजिना आपगाईँको ‘समृद्ध नेपालको सपना’ कविता तृतीय भएका छन् ।

प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार, द्वितीयलाई ४० हजार र तृतीयलाई ३० हजार प्रदान गरिने छ ।प्रतियोगितामा सहभागी ५०२ कवितामध्ये उत्कृष्ट ३० कवितालाई प्रतिस्पर्धाका लागि छनोट गरिएको प्रतिष्ठानका प्राज्ञसभा सदस्य एवम् सञ्चार संयोजक शशी लुमुम्बूले बताइन् ।

कविता प्रतियोगिताका निर्णायकमा डा.हेमनाथ पौडेल, स्नेह सायमी र प्रभा भट्टराई रहेका थिए ।

महोत्सवको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले उद्घाटन गर्दै कविता महोत्सवले साहित्यप्रतिको आकर्षण र महत्वलाई उजागर गर्ने बताए ।

उनले यस खालका कार्यक्रमले ओझेलमा परेका प्रतिभालाई प्रस्फूटन गर्न सहयोग पुर्याउने धारणा राखे ।कला, साहित्य र संस्कृतिको विकासले अन्य क्षेत्रको विकासका लागि पनि सहयोग पुर्याउने मन्त्री भट्टराईले उल्लेख गरे ।

सो अवसरमा मन्त्री भट्टराईले राष्ट्रिय कविता महोत्सवमा २०४६ देखि २०७६ सम्मका पुरस्कृत कविताको सङ्ग्रहको विमोचन तथा विभिन्न कर्मचारीलाई प्रज्ञा दीर्घ सेवा र प्रज्ञासेवा पदक प्रदान गरे । प्रज्ञाप्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, उपकुलपति डा.जगमान गुरुङ, सदस्यसचिव जगतप्रसाद उपाध्यायले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट