काठमाडौं- मेलम्ची खानेपानी आयोजनाले यसअघि सुन्दरीजलमा दुई पानी प्रशोधन केन्द्र निर्माण गरेकामा चालू आर्थिक वर्षमा नै थप एक केन्द्र निर्माण अघि बढाउने भएको छ । अहिले रहेका दुई केन्द्रले मेलम्ची खोलाबाट आउने दैनिक १७ करोड लिटर पानी प्रशोधन गर्ने आयोजनाले जनाएको छ ।
दोस्रो चरणमा याङ्ग्री र लार्के खोलाबाट आउने थप १७/१७ करोड लिटर पानी प्रशोधनका लागि अर्को संरचना आवश्यक पर्ने आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताए । एसियाली विकास बैंकको आग्रहमा दोस्रो चरणका लागि केन्द्र बनाउन तयारी थालिएको र त्यसका लागि डिजाइन भइसकेको उहाँले जानकारी दिनुभयो । एडिबीले सो पुनरावलोकन गर्ने काम अघि बढाइरहेको छ । सरकारले चालू आवमा रु ३५ करोड छुट्याएकाले यस वर्ष ठेक्कामा जान सकिने उनको भनाइ छ ।
सरकारले छुट्याएको रकम कम भए पनि दातृ निकायले लगानी सुनिश्चित भएकाले चालू आवमै ठेक्कामा जान सकिने प्रमुख पन्तले बताए । आयोजनाले नयाँ केन्द्र निर्माणसँगै पहिले निर्माण भइसकेका दुवै केन्द्रको क्षमता विस्तारसमेत अघि बढाउने भएको छ ।
पहिलो चरणमा मेलम्चीका लागि १७ करोड लिटर क्षमताको केन्द्र बनेको थियो । दोस्रो चरणमा याङ्ग्री र लार्केको पानी प्रशोधनका लागि थप ३४ करोड लिटर क्षमताको केन्द्र आवश्यक रहेको छ । सुन्दरीजलमा दुई केन्द्रको क्षमता विस्तार गरेर २५ दशमलव पाँच बनाउन सकिन्छ ।
आयोजनाअन्तर्गत सुरुङ, हेडबक्स र दुई पानी प्रशोधन केन्द्र निर्माण भएको हो । सुन्दरीजलमा दुई केन्द्रको निर्माण गत वर्ष नै सम्पन्न भइसकेको थियो । यहाँको प्रशोधन केन्द्र दुवैको क्षमता साढे आठ करोड लिटर रहेको छ । तीमध्ये एउटाको निर्माण जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग र अर्को एडिबीको आर्थिक सहयोगमा भएकोे थियो ।
सुरुङ, हेडवक्र्स र प्रशोधन केन्द्रको निर्माण आयोजनाले र पाइपलगायत अरू पूर्वाधारको निर्माण आयोजना कार्यान्वयन निर्देशनालयले गरिरहेका छन् ।