काठमाडौं- कांग्रेसका उपसभापति बिमलेन्द्र निधिले मंगलबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको संवैधानिक परिषद् सम्बन्धी अध्यादेशलाई सर्वसत्तावादी र अधिनायकवादी कदम भएको टिप्पणी गरेका छन् । अध्यादेश जारी भएको दुई घण्टापछि उपसभापति निधिले सामाजिक सञ्जाल ट्वीटरमार्फत् सो टिप्पणी गरेका हुन् ।
‘आज अचानक आएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश सर्वसत्तावादी र अधिनायकवादी काम हो,’ निधिले ट्वीटरमा उल्लेख गरेका छन् । उनले संविधान र प्रणालीमाथि नांगो आक्रमण भएको बताउँदै अध्यादेश स्वीकार्य नहुने प्रस्ट पारेका छन् । निधिले अध्यादेशको घोर भर्त्सना गरेका छन् ।