काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार दिउँको जारी गरेको संवैधानिक परिषद् सम्बन्धी अध्यादेशको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विरोध जनाएको छ ।
विज्ञप्ति जारी भएको एक घण्टा नबित्दै कांग्रेसका नेताहरूले सामाजिक सञ्जालमार्फत् विरोध जनाउन सुरु गरे । पार्टी उपसभापति विमलेन्द्र निधिले ट्वीटरमार्फत् आपत्ति जनाउँदै अध्यादेश जारी गर्नु सर्वसत्तावादी र अधिनायकवादी काम भएको बताए । उनले संविधान र प्रणालीमाथि नै नांगो आक्रमण भएको बताउँदै अध्यादेश स्वीकार्य नहुने प्रस्ट पारेका छन् ।
सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित भएपछि बिहान ११ बजेका लागि बोलाइएको परिषद्को बैठक साँझ ५ बजेलाई बोलाइए पनि कांग्रेस सभापति शेरबहादुर देउवा भने उपस्थित हुने छैनन् । अध्यादेश जारी भएपछि बैठकमा सहभागी नहुने निर्णय देउवाले गरेको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।
पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि उक्त अध्यादेशको कडा शब्दमा विरोध गरेका छन् । वरिष्ठ नेता पौडेलले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै सरकार निरंकुशतातर्फ अघि बढेको प्रमाण अध्यादेश भएको बताएका छन् ।
पौडेलले संवैधानिक परिषद् गठनको मर्म विपरित संवैधानिक अंगमा आफ्ना मान्छे भर्ना गर्ने दुषित मनायासयले अध्यादेश ल्याइएको आरोप लगाए । ‘सरकारको यो कार्यको घोर भर्त्र्सना गर्छु,’ उनले भने । उनले संसदको बैठक तुरुन्त बोलाएर यो अध्यादेश खारेज गर्न आह्वानसमेत गरेका छन् ।
कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले अध्यादेश अधिनायकवादको सिंढी भएको बताएका छन् । उनले पनि सामाजिक सञ्जाल फेसबुकमा टिप्पणी लेख्दै भनेका छन्, ‘संविधानको मर्म र भावना विपरीत ल्याइएको ‘संवैधानिक परिषद् सम्बन्धि अध्यादेश’ तुरुन्तै खारेज गरियोस् । यो अध्यादेश हामीले भन्दै आएको अधिनायकवादको सिंढी हो ।’
त्यसैगरी कांग्रेसका युवा नेता गगन थापाले पनि अध्यादेशको विरोध गरेका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत् संविधानको खिल्ली उडाउने प्रावधानसहितको अध्यादेश ल्याउने सरकारको निरंकुश कदमलाई असफल बनाएरै छाड्ने चेतावनी दिएका छन् । संसद बन्द गरेर राष्ट्रपतिसँगको साँठगाँठमा संवैधानिक परिषद् अध्यादेश जारी गरेकोमा उनले असन्तुष्टि पोखेका छन् ।