काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अनुपस्थितिमा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संवैधानिक परिषद् बैठक सकिएको छ ।
बैठकमा प्रधानमन्त्री एवम् परिषद्का अध्यक्ष केपी शर्मा ओलीसहित तीन जना सदस्यको बैठक बसेको थियो । बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणा र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना उपस्थित थिए ।
सो बैठकमा संवैधानिक निकायहरुमा नियुक्तिबारे छलफल भए पनि त्यसका निर्णय भने सार्वजनिक गरिएको छैन । बैठक लगत्तै प्रधानमन्त्री ओली राष्ट्रपति विद्या भण्डारीलाई भेट्न शितल निवास पुगेको बुझिएको छ ।
आज बिहान बसेको बैठकमा सभामुख सापकोटा उपस्थित नहुँदा बैठकका लागि आवश्यक गणपुरक संख्या नपुगेपछि प्रधानमन्त्री ओलीले पुनः आजै साँझ ५ बजेका लागि बैठक डाकेका थिए ।
त्यसपछि दिउँसो सरकारले संवैधानिक परिषद्को बैठकका लागि आवश्यक गणपुरक संख्या कम तोकेर अध्यादेश ल्याएको थियो । सो अध्यादेश ल्याएपछि बिहान बैठकमा उपस्थित भएका देउवा समेत साँझको बैठकमा अनुपस्थित भएका थिए ।