मुख्यमन्त्री गुरुङद्वारा धवलागिरि अस्पतालको निरीक्षण-Sutra News

मुख्यमन्त्री गुरुङद्वारा धवलागिरि अस्पतालको निरीक्षण

बुधबार, १ पौस २०७७

बुधबार, १ पौस २०७७

गलकोट- गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कोरोना संक्रमितको उपचार गराइराखेको धवलागिरि अस्पताल बागलुङको निरीक्षण गरेका छन् । मुख्यमन्त्री गुरुङले मंगलबार साँझ अस्पतालको समस्या तथा कोरोना रोकथामका विषयमा जानकारी लिएका थिए ।



अस्पताल सुधारका लागि गण्डकी प्रदेश सरकारले चासो दिएको भन्दै मुख्यमन्त्री गुरुङ अस्पताल सुधारका लागि पटकपटक निरीक्षणमा आउने गरेको धवलागिरि अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी रानामगरले जानकारी दिए ।

मगरका अनुसार मुख्यमन्त्री गुरुङले अस्पतालको अक्सिजन प्लान्ट, आइसीयू, सर्जिकल वार्डलगायतको अवलोकन गरेका थिए । मुख्यमन्त्री गुरुङले कोरोना संक्रमित भएर आइसोलेसन तथा आइसीयूमा रहेका बिरामीको अवस्था सिसीटिभी फुटेजबाट प्रत्यक्ष अवलोकन गरी जानकारीसमेत लिएका थिए ।

अस्पताल व्यवस्थापन समितिले निरीक्षणमा पुगेर मुख्यमन्त्रीलाई आइसीयूकक्षलाई सबै क्षमतामा चलाउन जनशक्ति अभाव रहेको, तीन शय्याको आइसीयूलाई पाँच शय्यामा स्तरवृद्धि गर्नुपर्ने र अक्सिजन भर्ने उपकरण खरिदका लागि बजेट मागलगायतका समस्या अवगत गराएको थियो ।

मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेश सरकारको पहलमा धवलागिरि अस्पतालमा निकै सुधार आएकामा खुसी व्यक्त गरे । उनले कोरोना रोकथाममा अस्पतालले खेलको भूमिकाप्रति प्रशंसा गरेका थिए । धवलागिरि अस्पताल गण्डकी प्रदेशमै पहिलोपटक कोरोना संक्रमितको उपचार गर्ने अस्पताल हो ।

सुरुम कोरोना संक्रमित राख्दै आएको अस्पतालले पछिल्लो समय संक्रमितको चाप बढ्दै गएपछि लक्षण देखिएका संक्रमितलाई मात्रै भर्ना लिँदै आएको छ । अस्पतालमा हाल तीन आइसीयू, दुई भेन्टिलेटर र २५ शय्याको आइसोलेसनकक्ष रहेको छ ।

गण्डकी प्रदेश सरकारले २०० शय्याको उपप्रादेशिक अस्पताल बनाउने लक्ष्यअनुरूप काम भइरहेको मुख्यमन्त्री गुरुङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट