काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको नेकपा प्रचार तथा प्रकाशन विभागका उपप्रमुख सूर्य थापाले जानकारी दिए ।
बैठकमा प्रधानमन्त्री ओलीसमेत सहभागी भएको उनका प्रेस सल्लाहकार थापाले बताए । आज अपराह्न १ बजे बस्ने भनिएको बैठक तीन घण्टा ढिलो बस्न थालेको हो ।
आजै बिहान पार्टीभित्रको विवाद समाधानलगायत विषयमा अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको थियो ।
उनीहरुबीच भएको छलफलपछि मात्र बैठक बस्न थालेको हो । यसअघि गत मंसिर २८ गते बसेको स्थायी कमिटी बैठक पार्टीका केन्द्रीय सदस्य कमानसिंह लामाको निधनमा शोक प्रकट गर्दै स्थगन भई आजका लागि डाकिएको थियो ।