काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदको अधिवेशन तत्काल बोलाउन माग गरेको छ । सरकारले मंगलबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बुधबार बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले सो माग गरेको हो । ‘संघीय संसद्को अधिवेशन अविलम्ब बोलाउन बैठकले माग गरेको छ, ’ बैठकपछि पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले भने ।
अध्यादेश संविधानको मर्म र भावना विपरीत रहेकोे कांग्रेस बैठकले ठहर गरेको छ । संसद अधिवेशन छलेर संविधानको मर्म विपरीत अध्यादेश जारी गरेर वर्तमान सरकारले अलोकतान्त्रिक र सर्वसत्तावादी चरित्र थप उजागर गरेको कांग्रेसको भनाइ छ ।
त्यसैगरी कांग्रेसले अध्यादेशको भरमा देश नचलाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनीसमेत दिएको छ । बैठकले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश तत्काल फिर्ता लिन माग पनि गरेको छ ।
पदाधिकारी बैठकमा २९ मंसिरमा सरकारविरुद्ध देशभर प्रदर्शनको समीक्षासमेत भएको थियो । कांग्रेसले उखु किसानको माग सुनुवाइ गरेर उखुको बक्यौता अविलम्ब किसानलाई चुक्ता गराउन आवश्यक पहल र समन्वय गर्न पनि सरकारसँग माग गरेको छ ।