काठमाडौं- नेपाली कांग्रेसका सांसद तथा उद्योगपति विनोद चौधरीले नेपालमा अझै लगानीको वातावरण बन्न नसकेकाले सरकार र सरोकारवाला निकायका बीचमा उपयुक्त विधि खोजी गर्नुपर्ने बताएका छन् ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आज आयोजना गरेको ‘अर्थनीति बहस’ मा उनले सरकारले निजी उद्योगी व्यवसायीलाई हेर्ने सोचमा अझै परिवर्तन गर्नुपर्ने र लगानीको वातावरण बनाउनुपर्ने बताए ।
नेपालमा लगानी ल्याउन चाहने र नयाँ सोच भएका युवा उद्यमशील बन्ने चाहना राखेको भए पनि उपयुक्त वातावरण बन्न नसकेको उल्लेख गर्दै उनले आर्थिक क्षेत्रका विकासका लागि फराकिलो सोच जरुरी रहेको स्पष्ट पारे ।
निजी औद्योगिक क्षेत्रको विकासका लागि ऐन कानून नीतिनियम बनाउने कानून निर्माताको सोचमा सकारात्मक परिर्वतन नआएसम्म नेपालमा लगानीको सहज वातावरण बन्न नसक्ने उनको टिप्पणी छ ।
उद्योगपति चौधरीले आफूले विगत ४५ वर्षदेखि उद्योग व्यवसायका क्षेत्रमा काम गरेको अनुभाव सुनाउँदै भने, ‘नेपालमा धेरै जस्तो कानून औद्योगिक क्षेत्रको विकासका लागि प्रभावकारी बन्न सकेनन्, औद्योगिक वातावरण बनाउने गरी कानून, नीति तथा नियम बन्नु जरुरी छ ।’
पर्यटन, शिक्षा औषधिजन्य कृषिलगायतका क्षेत्रमा लगानी बढेको उल्लेख गर्दै उनले नेपालमा लगानी लगाउनसक्ने क्षेत्र अझै धेरै रहेको बताए ।